फिल्म । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने फिल्म ‘झिँगेदाउ २’ मा केही नयाँ कलाकार अनुबन्धित भएका छन् । प्रि प्रोडक्सनको काममा व्यस्त रहेका निर्देशक देउजाले आगामी मङ्सिर १५ देखि फिल्मको छायांकन गरिने जानकारी दिए ।
‘हामीले प्रि प्रोडक्सन अन्तर्गतको तयारी गरिरहेका छौँ । पहिलो भागको सफलताले हामीलाई थप उत्तरदायी बनाएको छ । हामी दर्शकको माया बढ्ने गरी फिल्म तयार गर्ने तयारीमा जुटेका छौँ’, निर्देशक देउजाले भने ।
उनले फिल्मको पहिलो भागमा देखिएका कलाकार मुकुन भुसाललाई हटाउदै महेश त्रिपाठीलाई अनुबन्धित गरेका छन् । निर्देशक र कलाकारबीच छायांकन तालिकासम्बन्धी सहमति नजुट्दा मुकुनको विकल्प खोज्नु परेको देउजाले बताएका छन् । उनका अनुसार कलाकारको सेड्युलका कारण पटक-पटक छायांकन ढिलाइ भएको थियो । सोही विषयमा विवाद चुलिएपछि उनले मुकुनलाई फिल्मबाट हटाई महेशलाई अनुबन्धन गरेर छायांकनको तयारी थालेका हुन् ।
कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण हुन लागेको फिल्ममा महेश त्रिपाठीसँगै आर्यन सिग्देल, सरोज खनाल, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंहलगायत कलाकारको अभिनय रहनेछ । यसअघि तय भएका कलाकार केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, अंशु महर्जन, विजय देउजा, संगम भण्डारी, हिउँवाला गौतम, आयन खड्कालगायत भने यथावत् छन् ।
फिल्मका निर्माता शुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् । ईश्वर घिमिरे प्रोडक्सन हेडका रूपमा रहने फिल्ममा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्र डी. गुरुङको सम्पादन रहनेछ ।









