फिल्म । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । हालै अस्पतालमा भर्ना गरिएका उनी डिस्चार्ज भई अहिले घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । उनको स्वास्थ्यबारे फैलिएका विभिन्न हल्ला र निधनको झुटा खबरपछि परिवारले एक आधिकारिक वक्तव्य जारी गर्दै उनी डिस्चार्ज भएको पुष्टि गरेको छ ।
परिवारले जारी गरेको वक्तव्यमा धर्मेन्द्र घरमै स्वास्थ्य लाभ गरिरहेको र यस अवधिमा गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोध गरिएको छ । डा. प्रतीत सामदानीका अनुसार धर्मेन्द्र बुधबार बिहान ७ः३० बजेतिर डिस्चार्ज भएका हुन् । अब उनको उपचार घरमै जारी रहनेछ ।
अभिनेता धर्मेन्द्रलाई अक्टोबर ३१ मा सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यबारे हल्ला चलेपछि श्रीमती हेमा मालिनी र छोरी ईशा देओलले सामाजिक सञ्जालमार्फत सबै झुटा खबरको खण्डन गर्दै धर्मेन्द्रको स्वास्थ्य राम्रो रहेको जानकारी गराएका थिए ।









