फिल्म । कात्तिक १४ गते रिलिज हुँदा केवल ६४ शो पाएको फिल्म ‘परान’ले बलियो ‘वर्ड अफ माउथ’ पाउँदा आज बुधबार सर्वाधिक शो संख्या आफ्नो पक्षमा पारेको छ । पहिलो दुई दिन उत्साहजनक व्यापार गर्न नसकेको ‘परान’ले रिलिजको छैठौँ दिन आइपुग्दा हाल नेपाली सिनेमा हलहरूमा प्रदर्शनरत नेपाली तथा विदेशी फिल्महरूलाई पछाडि पार्दै सर्वाधिक शो पाउन सफल भएको छ ।
खल्ती एपमा यो समाचार तयार पार्दासम्म फिल्मले देशभर कुल १ सय ३२ शो पाएको छ । यसलाई दोस्रो स्थानमा अनमोल केसीको ‘जेरी अन टप’ले १ सय १९ शो प्राप्त गरेको छ । हाल नेपाली हलहरूमा ‘परान’सहित ‘जेरी अन टप’, ‘वरिष्ठ बलराम’, ‘मैझारो’ गरी कुल चार नेपाली फिल्म प्रदर्शनरत छन् । दर्शक तथा समीक्षकहरू दुवैबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि दर्शकको मागलाई मध्यनजर गर्दै हलहरूले अन्य फिल्मका शोमा भारी कटौती गर्दै ‘परान’लाई उत्साहजनक शो उपलब्ध गराएका हुन् ।
फिल्म हेर्नेहरूले उत्कृष्ट सिनेमा भन्दै सिनेमा हेरेर आफूहरू भावुक भएको प्रतिक्रिया दिइरहेका छन् ।दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको सिनेमालाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभर्टाइजिङका रञ्जित आचार्यको सहस्वामित्वको कम्पनी बाइस्कोप सिनेमाले निर्माण गरेको हो ।









