सङ्गीत । गायक आनन्द कार्की अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । नेपालीसँगै हिन्दी भाषामा थुप्रै गीत-गजल गाएर विगत चार दशकदेखि संगीतमा विशेष योगदान पुर्याएको भन्दै भारतको शान्तिवनमा आयोजित ‘ग्लोबल समिट २०२५’ मा उनलाई सम्मानित गरिएको हो । भारतका विभिन्न विशिष्ट व्यक्तित्वसँगै नेपालबाट सहभागी यो समिटमा गायक कार्कीलाई सम्मान प्रदान गरियो ।
शुभ दीपावली पर्वको अवसर पारेर आयोजना गरिएको सो समिटमा आनन्द कार्कीसँगै अन्य विभिन्न स्रष्टाहरू पनि सम्मानित भएका थिए । विश्वभरका नेताहरू, कलाकारहरू र चिन्तकहरूको बीचमा प्रदान गरिएको यो सम्मानले आफूलाई गर्वको अनुभूति भएको गायक कार्कीले बताए । विभिन्न देशमा सम्पन्न सांगीतिक कन्सर्टहरूमा प्रस्तुत भई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली गीत–संगीतलाई पुर्याएका कार्कीले भारतमा पनि कैयौँ सांगीतिक कार्यक्रममा आफ्ना गीतहरू प्रस्तुत गरिसकेका छन् ।
यही योगदानको कदर गर्दै आयोजक पक्षले ग्लोबल समिटमार्फत उनलाई सम्मान गरेको हो । नेपाली संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने क्रममा कार्कीको यो सम्मानले नेपाली कलाकारहरूका लागि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ ।










