भरतमणि र सुमनले सुरु गरे ‘शुभ’ पडकास्ट

ओटीटी । नेपालको पहिलो हास्य प्रतिस्पर्धा कमेडी च्याम्पियनका दुई सहभागी भरतमणि पौडेल र सुमन कोइरालाले पडकास्ट सुरु गरेका छन् । उनीहरुले मनोरञ्जन तथा अन्य क्षेत्रका सेलिब्रेटीलाई समेट्ने गरी ‘शुभ’ पडकास्ट सुरु गरेका हुन् । भरत कमेडी च्याम्पियन सिजन दुईका विजेता हुन् भने सुमन पहिलो सिजनका रनर अप हुन् ।

भरत र सुमन दुवैले फुर्सदको सदुपयोगसँगै सम्बन्ध विस्तारका लागि पडकास्ट सुरु गरेको बताएका छन् । ‘जानेर नजानेर यो क्षेत्रमा आइयो र जानेको काम पनि यही नै भयो । यही कामको दायरालाई विस्तार गरौँ भन्ने लागेर पडकास्ट सुरु गरेका हौँ’, भरत र सुमनको भनाइ छ ।

पडकास्टमा भरत र सुमन दुवै आमने सामने भएर अतिथिसँग कुरा गर्छन् । पहिलो भागमा उनीहरुले प्रियंका कार्की, गम्भीर बिष्ट र आश्मा विश्वकर्मासँग कुरा गरेका थिए ।

आगामी पडकास्टमा उनीहरुले राजाराम पौडेल, किरण केसी, शिवहरि पौडेल, इन्दिरा जोशी, महेश काफ्ले, नम्रता श्रेष्ठ, सलोन बस्नेत आदिसँग कुराकानी गरेका छन् । पडकास्टमा १२ भाग खिचिसकेको र यसपछिका शृंखलामा मनोरञ्जनसँगै अन्य क्षेत्रका सेलिब्रेटीसँग कुरा गर्ने योजना रहेको दुवैले बताए ।

कमेन्ट गर्नुहोस्