सञ्चारमन्त्री खरेलसहित कलाकारहरू सम्मानित

देश । हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले रेडियो नेपालका प्रथम गायक, अभिनेता, रंगकर्मी स्व. हरिप्रसाद रिमालको १०१औँ जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम आयोजना गरी कला, साहित्य, पत्रकारिता र रंगमञ्चमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मानित गरेको छ । हरेक वर्ष असोज २ गते रिमालको जन्मजयन्तीमा कला, साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्वलाई सम्मान गर्दै आएको प्रतिष्ठानले यस वर्ष जेनजी आन्दोलनका कारण स्थगित कार्यक्रम बिहीबार राष्ट्रिय नाचघरमा सम्पन्न गरेको हो । यसपटक ‘राष्ट्रिय लघुत्तम चलचित्र महोत्सव’सहित विभिन्न व्यक्तित्वलाई सम्मानित र पुरस्कृत गरिएको छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मान’बाट नगद २१ हजार १ रुपैयाँसहित सम्मानित गरिएको छ । त्यस्तै, गायिका मिरा राणालाई ‘हरिप्रसाद रिमाल नाट्य संगीत सम्मान’बाट ३१ हजार १ रुपैयाँ र पप गायक तथा ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियन्ता धिरज राईलाई ‘हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य संगीत सम्मान’बाट २१ हजार १ रुपैयाँसहित सम्मान गरिएको छ ।

प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटाले स्वागत मन्तव्यमा गुरु हरिप्रसाद रिमाललाई स्मरण गर्दै प्रतिष्ठानले कला, साहित्य र संस्कृतिमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्नुका साथै गत वर्षदेखि नाटक र यस वर्ष लघु फिल्म महोत्सवमार्फत नयाँ प्रतिभालाई प्रोत्साहन र मञ्च प्रदान गरेको बताए । उनले मन्त्री खरेललाई सम्मान गर्ने निर्णय मन्त्री बन्नुअघि नै भएको जानकारी दिए ।

कान्तिपुर दैनिकका उपसम्पादक दीपक सापकोटाले मन्त्री खरेलको पत्रकारिताबारे चर्चा गर्दै उनले इमेज टेलिभिजनको ‘हट सिट’ कार्यक्रममार्फत नेपाली समाजमा बहस सिर्जना गरी पत्रकारिता क्षेत्रमा नयाँ उचाइ थपेको बताए । अभिनेता रवीन्द्र खड्काले गायिका मिरा राणालाई सरल, मृदुभाषी र सबैसँग घुलमिल हुने सुप्रसिद्ध गायिका भएको उल्लेख गरे ।

सम्मान ग्रहणपछि मन्त्री खरेलले आफू सञ्चारमन्त्रीको हैसियतमा नभई सञ्चारकर्मीकै रूपमा कार्यक्रममा उपस्थित भएको बताए । ‘मलाई सम्मानको लागि सम्राटजीले फोन गर्दा मैले मेरो समय आएको छैन, अरूलाई खोज्नुपर्छ कि भनेको थिएँ । तर, प्रक्रियागत निर्णय भएको थाहा पाएपछि हरिप्रसाद रिमाल र कल्याणी रिमालको नाममा पुरस्कार पाउनु मेरो सौभाग्य ठानेको छु’, उनले भने । उनले रिमालको बानेश्वरस्थित घरमा घण्टौँ गफ गरेको स्मरण गर्दै ९४ वर्षीया कल्याणी रिमालको जोश २५ वर्षीया युवतीको जस्तै रहेको बताए ।

‘राष्ट्रिय लघुत्तम चलचित्र महोत्सव २०८२’ को पुरस्कार वितरण पनि सम्पन्न भएको छ । विनोद लोहार निर्देशित ‘संगिनी’ले प्रथम पुरस्कार जितेको छ । यसै फिल्मबाट विनोद लोहारले उत्कृष्ट लेखन र सलिना अधिकारीले उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरे । ‘कलर अफ टी’ले दोस्रो पुरस्कार जित्दा यसका राजकुमार लामिछानेले उत्कृष्ट निर्देशक र विरबहादुर थारुले उत्कृष्ट सम्पादनको पुरस्कार हात पारे ।

तेस्रो पुरस्कार प्राप्त ‘अन्तिम रात’बाट दर्शन घिमिरेले उत्कृष्ट अभिनेताको पुरस्कार जिते। ‘दृश्य’बाट नारायण जिसीले उत्कृष्ट छायांकनको पुरस्कार प्राप्त गरे । प्रथम, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो भने अन्य विधाका विजेतालाई जनही १५ हजार १ रुपैयाँ पुरस्कार दिइएको थियो ।

निर्णायक मण्डलमा अभिनेता हरिहर शर्मा, मदनदास श्रेष्ठ र प्रथम नेपाली अभिनेत्री भुवन चन्द थिए । हरिहर शर्माले फिल्म छनोट प्रक्रियाबारे प्रष्ट पार्दै सकारात्मक मूल्यांकन, सामाजिक सन्देश र प्रभावलाई मध्यनजर गरिएको बताए । प्रतिष्ठानका संरक्षक प्रा.डा. वासुदेव त्रिपाठीले नेपाली रंगमञ्चमा बालकृष्ण समपछिका शिरोमणि हरिप्रसाद रिमाल रहेको र उनको नेतृत्व पुस्तान्तरण हुनुपर्ने बताए। उनले प्रतिष्ठानले नयाँ पुस्तालाई हौसला प्रदान गरेकोमा प्रशंसा गरे । कार्यक्रममा ९४ वर्षीया कल्याणी रिमालको उपस्थिति थियो । प्रतिष्ठानले सरकारी सहयोगबिना रिमालले प्राप्त पुरस्कारको रकमबाट कोष स्थापना गरी यस्ता गतिविधि सञ्चालन गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्