‘हरिबहादुरको जुत्ता’ लाई दर्शकको साथ

फिल्म । असोज १३ गते दशैँको फूलपातीमा प्रदर्शनमा आएको फिल्म ‘हरिबहादुरको जुत्ता’ हलमा सफलतापूर्वक प्रदर्शनरत छ । दर्शकको ‘राम्रो वर्ड अफ माउथ’ का कारण यसले बक्सअफिसमा ४ करोडभन्दा बढी व्यापार गरिसकेको छ । रिलिजको तेस्रो सातामा पुग्दा पनि सम्मानजनक शो संख्या र दर्शकको साथ पाएको छ ।

रिलिजको दिनदेखि नै काठमाडौँ उपत्यकाका विभिन्न हलमा दर्शक भेट्न मुख्य अभिनेता हरिवंश आचार्यसहितको टिम पुगिरहेको छ । राम्रो प्रतिक्रिया पाएपछि टिम यतिबेला मोफसल यात्रामा छ । मुख्य अभिनेता हरिवंश आचार्य र निर्माता तथा कलाकार मोहितवंश आचार्य नेपालगञ्ज पुगेका छन् । नेपालगञ्जको सिने रोयल हलमा बिहानदेखि नै उल्लेख्य दर्शक उपस्थित थिए ।

हरिवंश पुगेपछि उनलाई भेट्न र फोटो खिचाउन दर्शकको भीड लागेको छ । आज नेपालगञ्ज हलमा दिनभरि उनले दर्शक भेट्ने कार्यक्रम छ । दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्की, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने र कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको फिल्मको छायांकन कृष्ण बहादुर थापाले गरेका छन् भने नकुल खड्काले सम्पादन गरेका छन् । वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको फिल्ममा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईँको स्वर छ ।

कमेन्ट गर्नुहोस्