फिल्म । निर्देशक कृषा चौलागाईंले निर्देशन गरेको नयाँ छोटो फिल्म ‘ऐना’ यस वर्षको तिहारमा रिलिज हुने भएको छ । केपी फिल्म्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मको मुख्य भाव ‘जीवनको प्रतिबिम्ब’ रहेको निर्देशक चौलागाईंले बताइन । ‘ऐना केवल दर्पण होइन, यो हाम्रो आत्मा र जीवनको कथा हो । प्रत्येक अनुहार र प्रत्येक क्षणमा एउटा कथा लुकेको हुन्छ , यही नै यस फिल्मको सार हो’, कृषाले भनिन् ।
छोटो फिल्म ‘ऐना’ ले तिहारको उज्यालो, आत्मचिन्तन र माया-सम्बन्धको गहिरो भावनालाई कलात्मक ढङ्गमा चित्रण गरेको बताइएको छ । फिल्मले दर्शकलाई आफ्नै जीवन र समाजको प्रतिबिम्ब देखाउने प्रयास गरेको निर्माण पक्षको भनाइ छ ।
यस फिल्ममा भोलाराज सापकोटा र सरिता गिरीको सशक्त र यथार्थपरक अभिनय देख्न सकिनेछ । उनीहरूको संवेदनशील प्रस्तुतिले दर्शकको मन छुने विश्वास निर्माण पक्षको छ । फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गर्नुभएको हो । केपी फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको यो फिल्म युएनए डिजिटलमार्फत विश्वव्यापी रूपमा प्रदर्शन गरिनेछ । निर्देशक चौलागाईं यसअघि ‘पिताम्बर’, ‘ऐंचो पैंचो’ जस्ता सफल फिल्म निर्देशन गरिसकेकी छिन् ।









