सकियो ‘आ बाट आमा’को छायांकन

फिल्म । निर्देशक चन्द्र पन्तले फिल्म ‘आ बाट आमा’को छायांकन २५ दिनमै सम्पन्न गरेका छन् । छायांकन सकिएलगत्तै पन्तले अभिनेता पल शाहलाई अर्को अनटाइटल्ड फिल्मका लागि अनुबन्ध गरेका छन् । निर्देशक पन्तले नयाँ फिल्मको नाम र अन्य कलाकारबारे केही दिनपछि जानकारी दिने बताएका छन् । उनले पलसँगको दोस्रो सहकार्य पनि पहिलो जस्तै सशक्त हुने विश्वास व्यक्त गरेका छन् ।

‘आ बाट आमा’को छायांकन तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्तसहित चितवनबाट सुरु भएको थियो । एक महिनाको कार्यतालिका भए पनि कलाकार र प्राविधिक टोलीको मेहनतले ५ दिनअगावै छायांकन सकिएको निर्देशक पन्तले बताए । चितवन, काठमाडौंलगायत विभिन्न स्थानमा खिचिएको यो फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेतीलगायतले अभिनय गरेका छन् ।

फिल्मले आमा र सन्तानबीचको माया, ममता र स्नेहको कथा प्रस्तुत गर्नेछ।छायांकन सम्पन्न भएपछि पल शाहले फिल्मप्रति आशावादी रहेको बताए ।आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्मको छायांकन नवराज उप्रेतीले गरेका छन्। सङ्गीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको योगदान छ। फिल्मको विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ। अस्ट्रेलिया र न्युजिल्यान्डको अधिकार हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले खरिद गरेको निर्माण पक्षले जनाएको छ । नेपालमा प्रदर्शन अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ ।

कमेन्ट गर्नुहोस्