‘रिमै’ प्रदर्शनमा

फिल्म । खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘रिमै’ आज भाद्र २० बाट देशव्यापी प्रदर्शनमा आएको छ । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्मित यो फिल्ममा दयाहाङ राई र रिश्मा गुरुङ मुख्य भूमिकामा छन् । रिश्मा आठ वर्षपछि यो फिल्ममार्फत ठूलो पर्दामा फर्किएकी छन् ।

फिल्ममा दयाहाङ र रिश्मासँगै अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डीबी गुरुङ, टेक गुरुङ र बालकलाकारहरू असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय छ। ‘कबड्डी’ फिल्मको लोकप्रिय जोडी दयाहाङ र रिश्माको केमिस्ट्रीले यो फिल्मप्रति दर्शकको उत्साह थपिएको छ।कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको यो फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका छन्।

ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र परम्परासँग आधुनिकताको टकरावलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। संवाद, छायांकन र पृष्ठभूमि संगीतले दर्शकलाई गाउँको वास्तविक परिवेशमा डुबाउने संकेत गरेको छ।फिल्मको कार्यकारी निर्माता वीरवल घले हुन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता छन्। बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको भूमिकामा छन्।

दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राईको मुख्य सहायक निर्देशन, विष्णु मैनालीको प्रोडक्सन व्यवस्थापन र मित्र डी. गुरुङको सम्पादनले फिल्मलाई थप समृद्ध बनाएको छ।‘रिमै’ को ट्रेलर र टिजरले यसअघि नै दर्शकमाझ उत्साह जगाइसकेको छ। गाउँले जीवन र सामाजिक यथार्थलाई पस्कने यो फिल्मले बक्स अफिसमा बलियो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्