जन्मदिनमा कृषाले घोषणा गरिन् ‘पारस’

फिल्म । निर्देशक कृषा चौलागाईंको जन्मदिनको अवसरमा नयाँ फिल्म ‘पारस’को निर्माण घोषणा गरिएको छ । बुधबार आयोजित एक कार्यक्रममा उनले यो फिल्मको कथा लेखन र निर्देशन आफैंले गर्ने बताएकी छन् । यो फिल्म केपी फिल्म्सको ब्यानरमा निर्माण हुनेछ र यसको लगानी निर्देशक कृषाकी भाइ विशाल चौलागाईंले गरेका छन् । फिल्मको कथा सचिन लदियाले लेखेका हुन्, भने छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन्। कृषा र पुरुषोत्तमले यसअघि ‘ऐचो पैचो’ र ‘पिताम्बर’मा सहकार्य गरिसकेका छन् र यो उनीहरूको तेस्रो सहकार्य हो । निर्माता विशालको पनि यो टिमसँग तेस्रो सहकार्य हो।

फिल्मको छायांकन आगामी फागुनबाट सुरु हुनेछ । बुधबार साँझ कालोपुल नजिकको एक पार्टी प्यालेसमा आयोजित घोषणा कार्यक्रममा निर्देशक कृषाले यो फिल्म एक्सन र प्रेमकथाको संयोजन हुने बताइन्।

‘अहिलेलाई यति मात्र जानकारी दिन सकिन्छ की हामी कथामा काम गरिरहेका छौँ। बाँकी कुरा पछि बिस्तारै खुलाउँदै जानेछौं’, उनले भनिन् । उनले कलाकार र अन्य प्राविधिक पक्षको जानकारी क्रमशः सार्वजनिक गरिने बताइन् ।

उनले ‘पिताम्बर’मा भएका कमजोरीहरू ‘पारस’मा सुधारिने पनि उल्लेख गरे । उक्त कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उनले निर्देशक कृषालाई जन्मदिनको शुभकामना दिंदै नयाँ फिल्मका लागि शुभेच्छा व्यक्त गरे । निर्माण पक्षले फिल्मको प्रदर्शन मिति भने हालसम्म घोषणा गरेको छैन ।

कमेन्ट गर्नुहोस्