‘पुष्पा’ को रेकर्ड तोड्ने बाटोमा ‘महावतार नरसिम्हा’

फिल्म । साउथको एनिमेटेड फिल्म ‘महावतार नरसिम्हा’ रिलिज भएको एक महिना बितिसके पनि यसले बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ । यो फिल्मले आफूलाई भारतीय एनिमेटेड फिल्मको इतिहासमा सबैभन्दा ठूलो सफलताको रूपमा स्थापित गरिसकेको छ । फिल्मले सुरुवाती चरणको तुलनामा केही कमी आए पनि ३५ दिनसम्म हरेक दिन १ करोडभन्दा कम कलेक्सन गरेको छैन, जुन आफैँमा ठूलो उपलब्धि हो । ३५औँ दिनमा फिल्मले १.१५ करोड कमाएको छ, जुन हालसम्मकै सबैभन्दा कम दैनिक कलेक्सन हो । तथापि, फिल्मले भारतमा ३५ दिनमा कुल २ सय ३८ करोड २५ लाख र विश्वव्यापी रूपमा ३ सय ९ करो ४० लाख कमाएको छ । यसमध्ये विदेशी बजारबाट २६ करोड १० लाख कलेक्सन भएको छ ।

‘महावतार नरसिम्हा’ले ३ सय करोडको आँकडा पार गरिसकेको छ र अब अल्लु अर्जुनको ‘पुष्पा: द राइज’ (३६० करोड) र अजय देवगनको ‘तानाजी’ (३५८ करोड) को विश्वव्यापी कलेक्सनलाई चुनौती दिने दिशामा अघि बढिरहेको छ । यदि फिल्मले आगामी दुई सातासम्म यही गति कायम राख्यो र साताको दिनमा पनि बलियो प्रदर्शन गर्‍यो भने यी दुई फिल्मको रेकर्ड तोड्ने सम्भावना छ । फिल्मले थप ५० देखि ५५ करोड कमाएमा यी ठूला फिल्महरूलाई उछिनेर नयाँ कीर्तिमान बनाउन सक्छ ।

‘महावतार नरसिम्हा’ले भारतमा सर्वाधिक कमाउने एनिमेटेड फिल्मको रेकर्ड बनाइसकेको छ, जसले ‘स्पाइडर-म्यान: इन्टु द स्पाइडर-भर्स’ र ‘कुङ्ग फु पान्डा’ जस्ता अन्तर्राष्ट्रिय फिल्महरूलाई समेत पछाडि पारेको छ । यो फिल्मको सफलताले भारतीय एनिमेसन उद्योगमा नयाँ सम्भावनाको ढोका खोलेको छ ।

होम्बाले फिल्म्स र क्लिम प्रोडक्सन्सद्वारा निर्मित यो फिल्म भगवान विष्णुको तेस्रो र चौथो अवतार (वराह र नरसिम्हा) को कथामा आधारित छ । निर्देशक अश्विन कुमारको डेब्यु फिल्मले समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । यो फिल्म ‘महावतार सिनेम्याटिक युनिभर्स’ को पहिलो कडी हो, जसको दोस्रो भाग सन् २०२७ मा रिलिज हुने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्