सङ्गीत । ‘भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा संवर्द्धन गरौं’ भन्ने मूल नाराका साथ चौथो मिलाप तीज उत्सव काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउन्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा बुधबार आयोजित विशेष समारोहमा नेपाली नारीको महान् पर्व तीजलाई साहित्य, कला, नृत्य र सङ्गीतमार्फत उत्सवमय बनाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालकी पहिलो अभिनेत्री भुवन चन्द र विशेष अतिथि काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल हुनुहुन्थ्यो । प्रमुख अतिथि चन्दले तीजलाई नेपाली महिलाको आत्मीयता, संस्कृति र एकताको प्रतीकका रूपमा व्याख्या गर्दै भनिन्,‘तीज केवल रमाइलोको पर्व मात्र होइन, यो हाम्रो संस्कृति र पहिचानसँग जोडिएको अमूल्य धरोहर हो । नयाँ पुस्तामा यसको महत्व र मौलिकता प्रवाह गर्न सके हाम्रो परम्परा अझ बलियो हुन्छ।’
उपमेयर डंगोलले तीजले महिलालाई सशक्त बनाउन सक्ने बताउँदै यस्ता उत्सवले संस्कृति संरक्षणसँगै सामुदायिक एकता बढाउने विचार व्यक्त गर्नुभयो ।उत्सवमा विविध सांस्कृतिक प्रस्तुति र ‘तीज मिलाप सम्मान’ प्रदान गरिएको थियो । सम्मानित हुनेमा डा. तारादेवी कार्की (तारु), गायिका रीता बुढाथोकी, सारिका घिमिरे, शोभा पाण्डे, नीता आचार्य, तृप्ति खड्का, मञ्जु थापा, उर्मिला खत्री (रिया), साहित्यकार सानु शर्मा, निर्देशक सावित्री खत्री, व्यवसायी राधिका खतिवडालगायत हुनुहुन्थ्यो । नृत्य, गीत र साहित्यिक प्रस्तुतिले कार्यक्रमलाई रंगीन बनाएको थियो ।
परम्परागत भेषभूषामा सहभागी दिदीबहिनीहरूले तीज गीतमा नाच्दा वातावरण उल्लासमय बनेको थियो । सभापति गीता अधिकारीले विगत १५ वर्षदेखि मिलाप मासिक प्रकाशन र चार वर्षदेखि तीज उत्सव मनाउँदै आएको बताउँदै यसको उद्देश्य नेपाली संस्कृतिको संरक्षण, महिला सशक्तीकरण र सामाजिक एकता प्रवर्द्धन रहेको उल्लेख गर्नुभयो । उहाँले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ वृहत् कार्यक्रम गर्ने योजना सुनाउनुभयो।यस वर्षको उत्सवलाई अभियान्ता फाउन्डेशनको ‘टेक लिडहर्स फेलोशिप’अन्तर्गत सञ्चालित ‘सचेत नारी अभियान’ले साथ दिएको थियो । काठमाडौं महानगरपालिकाको वडा महिला सञ्जालसँगको सहकार्यमा चार महिनासम्म चलेको यो अभियानमार्फत कम्युनिटी एम्बास्डरहरूले डिजिटल वकालत, सञ्चार र सामुदायिक सचेतनासम्बन्धी तालिम लिएर लैंगिक हिंसाविरुद्ध जागरण फैलाएका छन् ।
अभियानले चार हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष जानकारी दिएको आयोजकले जनाएका छन् । फाउन्डेशनले उत्सवलाई प्रायोजन गरी मनोरञ्जन क्षेत्रसँग पनि जोड्ने प्रयास गरेको छ।कार्यक्रममा वक्ताहरूले तीजको भडकिलोपन बढ्दै गएको भन्दै यसको मौलिकता जोगाउनुपर्नेमा जोड दिए । सहभागीहरूले मिलापको निरन्तर प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन शुभकामना दिए । वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ कलाकार शारदा गिरी, नेपाल पत्रकार महासंघकी अध्यक्ष नितु पण्डितलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रम सञ्चारकर्मी रिना श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने गायिका सारिका घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि र अन्य अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । डा. बुनु दाहाल, हास्य कलाकार निरु खड्का, सरिता राजोपाध्यायसहित समाजमा योगदान दिएका करिब एक सय महिलाको उपस्थिति थियो । स्वस्तीका गिरी र उर्मिला खत्री (रिया) ले नृत्य प्रस्तुत गरे भने मञ्जु थापा, शोभा पाण्डे र सारिका घिमिरेले गीत गाए । उत्सवमा तीजको दरसहितको भोज र रमाइलो नृत्यले वातावरणलाई थप रौनकमय बनाएको थियो ।








