फिल्म । आगामी तिहारको अवसरमा असोज ३१ बाट प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’ को निर्माण टिम गीत छायांकनका लागि भारतको जयपुर पुगेको छ । निर्माता, निर्देशक र कलाकारसहितको टिम हाल राजस्थानमा गीतको छायांकनमा व्यस्त छ । निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मासहितको टिम जयपुर पुगेको हो । कथाको मागअनुसार आवश्यक दृश्य खिच्न जयपुर छनोट गरिएको निर्माता न्यौपानेले बताए ।
प्राप्त तस्बिरमा अनमोल र आँचल रोमान्टिक अवतारमा देखिएका छन् । टिमले एक गीतको छायांकन सकेर शनिबार नेपाल फर्कने योजना बनाएको छ । अनन्या फिल्म्स प्रालीको ब्यानरमा बनेको यो फिल्मको पोस्टर केही हप्ताअघि सार्वजनिक भएसँगै निर्माण टिम प्रचारमा जुटेको छ । असोज ३१ मा ‘जेरी अन टप’ सोलो रिलिज हुने तय भएको छ ।
फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरुङ, चर्चित हास्य अभिनेता केदार घिमिरे ‘माग्नेबूढा’, भुवन केसी, सुरक्षा पन्त र उषा खड्कीको प्रमुख अभिनय छ । रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले निर्माता न्यौपानेसँग लगानीमा साझेदारी गरेका छन् । कथा हेमराज बीसीको हो भने कार्यकारी निर्मातामा अनुराधा गिरी र ईश्वर श्रेष्ठ, एसोसिएट निर्मातामा नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।
फिल्मको संगीत कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र बृजेश श्रेष्ठले दिएका छन् । विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन छ । हङकङको एलजी एसोसिएट्सले फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।










