‘मिस प्लस टू इन्टरनेसनल’मा कर्मा, आकृति र मुस्कान विजेता

सौन्दर्य । ‘मिस प्लस टू इन्टरनेसनल’को उपाधि एकसाथ तीन जना प्रतियोगीले हात पारेका छन् । बुधबार साँझ राष्ट्रिय नाचघरमा आयोजित भव्य समारोहमा कर्मा लामाले ‘मिस प्लस टू नेपाल वर्ल्ड’, आकृति पोखरेलले ‘मिस प्लस टू नेपाल ग्लोबल’ र मुस्कान कुँवरले ‘मिस प्लस टू नेपाल हेरिटेज’को ताज जितेका हुन् ।सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र प्रतिभाका आधारमा विजेता छनोट गरिएको प्रतियोगितामा मुस्कान कुँवरले ‘पब्लिक च्वाइस’ उपाधि पनि जितिन् ।

अन्य सबटाइटलतर्फ मुस्कान कुँवर ‘मिस ट्यालेन्ट’, कर्मा लामा ‘मिस स्टाइलिस’ र ‘बेस्ट वाक’, आकृति पोखरेल ‘मिस फोटोजेनिक’, प्रियंका चौधरी ‘मिस कन्जिनियालिटी’, अनुपमा नेपाल ‘मिस पर्सनालिटी’, काजल मेहता ‘मिस कन्फिडेन्ट’, रेशु कुमारी मगर ‘मिस इन्टेलेक्चुअल’, रेनुका मास्के ‘मिस डिसिप्लिन’, निकिता शाह ‘बेस्ट ट्रान्सफर्मेसन’, पुष्पाञ्जली शर्मा ‘मिस डिटरमिनेसन’, कृति शाह ‘मिस चार्मिङ’, मनकामना रौनियार ‘मिस डिसेन्ट’, आश्मा धामी ‘म्यानेजमेन्ट च्वाइस’ र कृतिका कर्माचार्यले ‘इभनिङ गाउन’ उपाधि हात पारे ।

युभा इभेन्ट्सद्वारा आयोजित यो प्रतियोगितामा सङ्गीता रौनियार, प्रिया मानन्धर, बीएवा बस्नेत, राम केसी, विशाल गुरुङ, अनिला श्रेष्ठ, मनिषा डंगोललगायत निर्णायक थिए । त्रिदेवी श्रेष्ठले कार्यक्रम व्यवस्थापन र रोजिन शाक्यले कोरियोग्राफी गरेका थिए । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीको प्रतिभा र व्यक्तित्व निखार्ने उद्देश्यले आयोजित यो प्रतियोगिताको भोटिङ पार्टनर ‘जीनोपे’ थियो ।

विगतका संस्करणमा सुप्रिया हमाल ठकुरी, आँचल शर्मा, प्रभेशिका अधिकारी र शिक्षा राणाजस्ता प्रतिभा उदाएका छन् । सन् २०१५ की विजेता आँचल शर्मा हाल नेपाली फिल्म उद्योगमा स्थापित नाम बनिसकेकी छन् ।

कमेन्ट गर्नुहोस्