ओटीटी । गाईजात्राको रौनक नजिकिँदै गर्दा हास्यकलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाला’ले नेताहरूमाथि तिखो व्यङ्ग्य प्रहार गर्दै नयाँ गाईजात्रे कमेडी कोसेली ‘मिसन नौटंकी’ ल्याएका छन् । ओएसआर डिजिटलमार्फत सार्वजनिक यो प्रस्तुतिमा भ्रष्टाचार र नेताहरूका गलत कार्यलाई मुख्य विषय बनाइएको छ ।
‘मिसन नौटंकी’ले पछिल्लो समय नेताहरूले चर्चामा ल्याउने ‘मिस चौरासी’ जस्ता विषयलाई नौटंकीको रूपमा प्रस्तुत गर्दै तिखो व्यङ्ग्य गरेको छ । नेताहरूको व्यवहार र सामाजिक विकृतिमाथि प्रहार गर्दै दर्शकलाई हास्य-व्यङ्ग्यमार्फत मनोरञ्जन दिने उद्देश्यले यो कोसेली ल्याइएको रिजालले बताए।यो वर्षको प्रस्तुतिमा रिजालले हिट फिल्म ‘जात्रै जात्रा’को गीत ‘लाइदेउ माया पिरिम’मा प्यारोडी बनाएका छन् ।
प्यारोडीमा रवि लामिछानेको जेल प्रकरण, नेताहरूको कार्यशैली, भ्रष्टाचार र लुटपाटका विषय समेटिएका छन्। सन् २०६१ देखि नियमित गाईजात्रे कोसेली ल्याउँदै आएका रिजालको ‘मिसन नौटंकी’ उनको २२औँ कोसेली हो । गत वर्ष उनले ‘लुछाचुडी’ प्रस्तुत गरेका थिए ।
‘मिसन नौटंकी’मा रिजालसँगै राधिका हमाल, प्रेम शर्मा पौडेल, सबित्रा लामिछाने ‘सबु’, धिरेन्द्र सिंह, किरण खनाल, बेदमणि अधिकारी, बलराम धमला ‘ठुले दाइ’, सबिना बिक, भीम परियार र बालकलाकार पोस्ना श्रेष्ठको अभिनय छ । लेखन, प्रस्तुति र निर्देशन रिजाल आफैँले गरेका छन् । गाईजात्रालाई हास्यकलाकारका लागि महत्त्वपूर्ण उत्सव मान्ने रिजालले यो वर्ष पनि दर्शक–स्रोताले आफ्नो कोसेलीलाई माया गर्ने विश्वास व्यक्त गरे । उनी अहिले राष्ट्रिय नाचघरको गाईजात्रे कार्यक्रमको तयारीमा जुटेका छन् ।









