टिभी । पति गुमाएकी नारीले समाजमा भोग्नुपर्ने परिस्थितिलाई उजागर गर्ने टेलिसिरियल ‘हिरा’ तयार भएको छ । राष्ट्रिय चलचित्र पुरस्कार विजेता फिल्म ‘बुलाकी’ को निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले यो सामाजिक कथामा आधारित सिरियल निर्माण गरेको हो ।
आइतबार पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले टेलिसिरियलको प्रशारणबारे जानकारी दिएको छ । निर्देशक विशाल बरालका अनुसार साउन १ गते ट्रेलर सार्वजनिक भएपछि साउन १५ गतेबाट ‘हिरा’ राष्ट्रिय टेलिभिजनमा औपचारिक रूपमा प्रशारण सुरु हुनेछ । सामाजिक सञ्जाल प्लेटफर्म युट्युबमा भने निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्टको आधिकारिक च्यानल ‘सिएम डिजिटल’ बाट प्रशारण हुने बरालले बताए ।
विराज विष्टको कथामा आधारित यस टेलिसिरियललाई पवी दाहालले निर्माण गरेकी हुन् । सिरियलमा विशाल पहारी, प्रिया रिजाल, सुवर्ण दुलाल, विधा कार्की, प्रीति शिवाकोटी, रवि खड्का, कुलबहादुर वली, केशु पुन: मगर, सिर्जना सिटौला, दिनेश कठायत, गंगाराम श्रेष्ठ, पवी दाहाल, लक्ष्मी गोसाइँ, रोहन परियार, वेगबहादुर श्रेष्ठ, बल नेपाली र अनिल जिसीले अभिनय गरेका छन् ।
स्वर्गीय मोती विष्टको प्रस्तुतिमा तयार भएको ‘हिरा’ लाई राजबहादुर सानेले लेखेका हुन् । छायांकन रक् कौसलले गरेका छन् भने शीर्ष गीतमा जय देवकोटाको संगीतमा गायिका समिक्षा अधिकारीले स्वर दिएकी छिन् ।
सिरियलमा मिलन विश्वकर्माको सम्पादन र किरण तुलाधरको ब्याकग्राउन्ड म्युजिक रहेको छ भने पोस्टर राकेश दाहालले तयार पारेका हुन् । सिरियलको सम्पूर्ण छायांकन काभ्रेको बनेपा-३, नाला चुना ताल आसपास गरिएको छ ।