भदौ ६ मा ‘माग्ने राजा’

फिल्म । निर्देशक ऋषि लामिछानेको निर्देशनमा निर्मित फिल्म ‘माग्ने राजा’को फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रमबीच फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । यो फिल्म आगामी भदौ ६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ ।

यो फिल्मबाट निर्देशक लामिछाने ८ वर्षपछि निर्देशनमा फर्किएका छन् । उनले ‘माग्ने राजा’ले वर्तमान समयमा आफूलाई राजाको रूपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा प्रस्तुत गर्ने बताए । फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्किएका हुन् । उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष छन् ।

लामिछाने र घिमिरेले तेस्रो पटक सहकार्य गरेका हुन् । उनीहरूले यसअघि निर्माण गरेका फिल्महरू ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान्-श्रीमती’ बक्सअफिसमा सुपरहिट भएका थिए । निर्देशक लामिछानेले यो तेस्रो सहकार्य पनि सुपरहिट हुने दाबी गरे ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटक मोडल पवित्रा साकी (मिस पबी) को अभिनय छ । अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत छ ।

कमेन्ट गर्नुहोस्