फिल्म । आगामी जेठ १५ गते बिहीबार प्रदर्शनमा आउने नेपाली फिल्म ‘महाभोज’ ले नवीन प्रचार शैली अपनाउँदै सडक नाटकमार्फत दर्शकमाझ पुग्ने रणनीति लिएको छ। रिलिजको अन्तिम चरणमा पुग्दा यो फिल्मले प्रचारमा विविधता थपेको छ । गत शनिबार साँझ काठमाडौँको गोङ्गबुमा ‘सत्य कहिल्यै लुक्दैन – महाभोज’ शीर्षकको सडक नाटक प्रस्तुत गरी सयौँ दर्शकलाई फिल्मको कथावस्तुबारे जानकारी गराइयो । निर्माताका अनुसार, यो अभियान रिलिजसम्म काठमाडौँका विभिन्न स्थानमा दैनिक रूपमा सञ्चालन हुनेछ ।
सडक नाटकमा कलाकारहरूले प्रत्यक्ष अभिनयमार्फत सहकारी पीडित र पीडकबीचको कथालाई जीवन्त रूपमा प्रस्तुत गरे । फिल्मको मूल कथावस्तुसँग मेल खाने यो नाटकको निर्देशन आकाश नेपालीले गरेका छन् भने लेखन सरिता कठायतले गरेकी छन् । नाटकमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत, र विनोद प्रकाश धामीले अभिनय गरेका छन्। नाटक व्यवस्थापन ट्राइडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपालले गरेको छ भने प्रस्तुति शुभआकाश टिमको हो ।
दिनेश राउतद्वारा निर्देशित ‘महाभोज’ सहकारी संस्थामा बचत गरेको रकम डुब्दा उत्पन्न पीडादायी अवस्था, पीडितको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष, र राजनीतिक चलखेललाई चित्रण गर्ने फिल्म हो ।
फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, र मोहन निरौलाको प्रमुख भूमिका छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको यो फिल्म हिमाल कडरिया निर्माता र विकास सुवेदी लेखक हुन् । ‘महाभोज’ नेपालसहित विदेशका केही मुलुकमा एकसाथ प्रदर्शन हुनेछ ।