मध्यपूर्वमा पनि ‘जार’

फिल्म । गत शुक्रबारबाट नेपाल र भारतमा प्रदर्शनमा आएको फिल्म‘जार’ ले बिहीबार (मे १५) बाट मध्यपूर्वका देशहरूमा एकसाथ प्रदर्शन थालनी गरेको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सका अनुसार युएई, कतार र बहराइनमा यसको प्रदर्शनी शुभारम्भ भएको हो । निर्देशक फुर्वाछिरिङ लामाले युएईका प्रमुख सहरहरू दुबई, अबुधाबी, अज्मान र सारजाहका स्थानीय हलहरूमा फिल्म प्रदर्शनमा आएको जानकारी दिए । यसैगरी, कतारको दोहा र बहराइनको मनामा लगायतका सहरहरूमा पनि ‘जार’ एकसाथ प्रदर्शन भइरहेको छ ।

निर्देशक लामाका अनुसार, शुक्रबारबाट यो फिल्म संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिकासँगै युरोपका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारीमा छ ।

‘नेपाल र भारतमा हाम्रो चलचित्र हेर्नुभएका दर्शकहरू र चलचित्र समीक्षकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले हामी उत्साहित छौँ’, निर्देशक लामाले भने, ‘डायस्पोरामा रहनुभएका नेपाली कलाप्रेमीहरूबाट पनि सोही प्रकारको प्रेम र सद्भावको अपेक्षा राखेका छौँ ।’

वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित उक्त फिल्ममा करिब २०० वर्ष पुरानो नेपाली समाजको वास्तविक कथालाई पर्दामा प्रस्तुत छ । फिल्ममा अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय फिल्म पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख भूमिकामा छन् । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको हो ।

फिल्मका कार्यकारी निर्माताहरूमा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन् । सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ भने झुमा लिम्बू र गंगा थापाले संगीत भरेका छन् ।

कमेन्ट गर्नुहोस्