फिल्म । निर्देशक खिल बहादुर गुरुङद्वारा निर्देशित फिल्म ‘रिमै’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार बुद्ध जयन्तीको शुभ अवसर पारेर निर्माण टिमले तीनवटा पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २७ गतेदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउने जानकारी दिएको हो ।
सार्वजनिक पोस्टरहरूले गुरुङ संस्कार र संस्कृतिमा फिल्म आधारित रहेको संकेत गर्दछ । पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङलाई प्रमुखता दिइएको छ भने दोस्रो पोस्टरमा उनीहरूसँगै अभिनेत्री गौमाया गुरुङ पनि प्रस्तुत छिन् । तेस्रो तथा अन्तिम पोस्टरमा भने दयाहाङ, रिस्मा, गौमायासहित यसका अधिकांश मुख्य कलाकारहरूलाई स्थान दिइएको छ । यी पोस्टरहरूले दर्शकमाझ थप कौतुहलता जगाउने विश्वास निर्माण पक्षको छ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको ‘रिमै’मा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङको अभिनय रहेको छ । साथै, बालकलाकारहरू असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरले पनि यसमा अभिनय गरेका छन् ।
उपेन्द्र सुब्बाको लेखन रहेको यसलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माताका रूपमा छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता हुन् । फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राईको मुख्य सहायक निर्देशन, बिष्णु मैनालीको प्रोडक्सन व्यवस्थापन र मित्र डि गुरुङको सम्पादन रहेको छ।








