फिल्म । नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गर्ने उद्देश्यले निर्देशक सिमोश सुनुवारले नयाँ फिल्म ‘जन्ते बाख्रो’ निर्माण गरेका छन् । यो फिल्म विशेषगरी विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा खुवाउने चलन अर्थात् ‘जन्ते बाख्रो’ खुवाउने परम्परामाथि आधारित छ ।
समयसँगै विवाह भोजको शैली परिवर्तन हुँदै गइरहेको सन्दर्भमा, निर्देशक सुनुवारले गाउँघरमा अझै जीवित परम्परालाई पर्दामा उतार्न खोजेका हुन् । उनका अनुसार फिल्मले नेपाली ग्रामीण जीवनशैली, रीतिरिवाज र संस्कारलाई रमाइलो ढंगमा प्रस्तुत गरेको छ ।
‘यो फिल्मले नयाँ पुस्तालाई नेपाली संस्कार र चलनप्रति जानकार बनाउने विश्वास लिएको छु’, निर्देशक सुनुवारले भने । फिल्ममा सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, र समापिका गौतमलगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्म जेठ २३ मा नेपालभर प्रदर्शन हुँदैछ ।