फिल्म । अभिनेता दीपकराज गिरीले जेनजी आन्दोलनलाई समर्थन जनाएपछि आफूलाई धम्की आउन थालेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार पोस्ट गर्दै उनले केही दिनअगाडिबाटै इनबक्स र फोन कलमार्फत धम्कीहरू प्राप्त भइरहेको उल्लेख गरेका छन् । उनका अनुसार, धम्की दिनेहरूले ‘जेनजीलाई उकास्ने त ? कलाकार भएर जेनजीतिर लाग्ने ? एक-एक हिसाब राखिन्छ’ जस्ता अभिव्यक्ति प्रयोग गरेका छन्। गिरीले यी धम्कीहरू ठूला राजनीतिक दलका कार्यकर्ताहरूसँग जोडिएका हुन सक्ने घुमाउरो संकेत गरेका छन् । केही फोन कलहरूको रेकर्डिङ समेत गरेको उनले बताएका छन् ।
विसं २०४६ को जनआन्दोलनमा ठूला दलसँगै सडकमा उत्रिएको स्मरण गर्दै गिरीले जेनजीले उठाएका सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा आफ्नो समर्थन कायमै रहेको स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘अस्तिको आन्दोलनमा पनि सबै दोषीमात्र दण्डित भएनन् । कति निर्दोष मानिसहरू पनि भिक्टिम हुन पुगेको देखेको छु । यदि तपाईंहरूले धम्की दिएजस्तै भयो भने म पनि त्यो सूचीमा थपिनेछु भनेर चित्त बुझाउनु बाहेक मसँग अन्य विकल्प छैन ।’
अभिनेताले थपे,‘होइन भने यहाँबाट सबैले आ-आफ्नो गल्ती महसुस गरेर क्रान्ति, प्रतिक्रान्ति र बदलाका कुरा छाडेर एकजुट भई पुनः मुलुक निर्माणको बारेमा सोच्नुपर्ने कि ?’
उनले देशव्यापी एकताको अपिल गरेका छन् । गिरीले यो समर्थन स्वाभाविक भएको र कुनै लोभ वा स्वार्थबाट नभई राष्ट्रिय हितका लागि भएको उल्लेख गर्दै सबै कलाकारहरूले जेनजी आन्दोलनलाई साथ दिएको पनि जनाएका छन् । जेनजी आन्दोलनले भ्रष्टाचार र सुशासनका विषयमा सरकारमाथि दबाब दिइरहेको छ ।










