फिल्म । सातौँ हप्तामा प्रदर्शनरत फिल्म ‘अञ्जिला’ भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा विशेष रूपमा प्रदर्शन गरिएको छ । नगर प्रमुख कैलाशकुमार आलेको उपस्थितिमा डिजिटल स्क्रिन र साउन्ड सिस्टमयुक्त नगरपालिका हलमा ५ सय दर्शकको सहभागितामा चौथो पटक प्रदर्शन भएको निर्देशक मिलन चाम्सले बताए ।
यस विशेष शोमा चलचित्रका निर्देशक मिलन चाम्स स्वयं उपस्थित रहे । ‘पहिले फिल्म भएता पनि अहिले भोजपुरमा कुनै हल छैन, यहाँ लगातार शोहरु हुनु गौरवको विषय हो । यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको छ’, निर्देशक चाम्सले भने ।
‘आठौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप’को अवसरमा गरिएको यस विशेष शोबाट उठेको मुनाफा राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको घर निर्माणमा खर्चिने निर्देशक चाम्सले जानकारी दिए । यो फिल्म उनै कप्तान सुब्बाको जीवनीमा आधारित रहेर तयार भएको फिल्म हो ।
नगर प्रमुख आलेले ‘अञ्जिला’ जस्तो आशयपूर्ण फिल्म आफ्नो नगरपालिकामा प्रदर्शन गर्न पाउँदा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्ता अर्थपूर्ण फिल्मका प्रदर्शनका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताए । साथै, उनले राज्यले गर्नुपर्ने काम फिल्म टिमले गरेको भन्दै कप्तान सुब्बाको घर निर्माणका लागि नगरपालिकाको तर्फबाट रु. पचास हजार सहयोग गर्ने घोषणा पनि गरे ।
सातौँ हप्तामा प्रदर्शनरत फिल्म ‘अञ्जिला’ काठमाडौं उपत्यकासहित देशभर गरी करिब ४० शोहरू जारी रहेका छन् । ‘अञ्जिला’ मा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।











