‘कबड्डी’ को नयाँ सिरिज घोषणा

13 Shares

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को घोषणा गरिएको छ । हिमाली भेगको कथा बोल्ने फिल्म ‘कबड्डी’ को तेस्रो सिरिज हो । यसपटक फिल्ममा नयाँ सदस्यको रुपमा कर्मा र विल्सन बिक्रम राई भित्रिएका छन् । यसवर्षको तिज वा दशैंको बीचमा जुनसुकै मितिमा प्रदर्शनमा आउने बताइएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् ।

यो फिल्मको अघिल्ला दुई सिरिज पनि उनैले निर्देशन गरेका थिए । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथामा फिल्म बन्न लागेको हो । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको ‘कबड्डी’ को तेस्रो सिरिज स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित हुने घोषणा कार्यक्रममा बताइएको छ ।

फिल्ममा नायिकाको रुपमा नयाँ अनुहार उपासना सिंह ठकुरी भित्रिएकी छिन् । ‘मलाइ यस टिमको सदस्य बन्न पाउँदा निकै खुसि लागेको छ’ उपासना भन्छिन् ‘मैले हेरेको फिल्ममा कबड्डीले मौलिक स्वाद दिएको थियो ।’ फिल्ममा नयाँ अनुहार कर्मा , विल्सन र उपासनासँगै दयाहाङ राई , रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहनेछ । यस फिल्मको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियार छन् भने, रुदेना साडा लेप्चा सह-निर्माताको रुपमा छन् । यसमा रोहित शाक्यको पाश्र्व संगीत रहनेछ । फिल्ममा सुलभ पहारी, याम भण्डारी, किरण लिम्बु सहायक निर्देशक र सिजन दाहाल, क्रिस लामा मुख्य सहायक निर्देशकको रुपमा छन् ।

Facebook Comments