फिल्म । यस वर्षको पहिलो शुक्रबार आज कुनै नयाँ फिल्म प्रदर्शन भएको छैन । अघिल्ला मितिमा प्रदर्शन भएका नेपाली फिल्म नै दर्शकको लागि प्रदर्शकले शो दिएका छन् । ‘पिताम्बर’,’कर्मा’,’वसन्त’,’अञ्जिला’,’लाज शरणम्’ र ‘होस्टेल ३’ अहिले नेपालका हलमा प्रदर्शनरत छन् । यी मध्ये केही फिल्म एकाध शो लिएर निरन्तरता लिई रहेका छन् ।
गत वर्ष चैत २२ मा प्रदर्शन भएको ‘वसन्त’ र चैत २९ मा प्रदर्शन भएका ‘पिताम्बर’ र ‘कर्मा’ लाई निकै आशका साथ हेरिएको थियो । नयाँ वर्षको छेको पारेर गत साता अधिक शोजसहित रिलिज भएका दुई एक्सन फिल्म ‘कर्मा’ र ‘पिताम्बर’को शोज अनुपातमा दोस्रो सातासम्म आईपुग्दा निकै तलमाथि भएको छ । पहिलो साता कम्तिमा १ सय २४ शोजसहित रिलिज भएको सौरभ चौधरी निर्देशित फिल्म ‘कर्मा’ले निकै सुस्त व्यापार गरेपछि प्रदर्शकले दोस्रो सातामा यसको शोजमा निकै कटौती गरेका छन् । ‘कर्मा’का लागि दोस्रो साता पाएको ९ शोज केवल फिल्म एक सातामा नै उत्रिएन भन्नुमा बाहेक अन्य फाइदा खासै देखिदैन ।
लगभग १ सय ७० शोजसहित प्रदर्शन थालेको कृषा चौलागाईं निर्देशित फिल्म ‘पिताम्बर’ले भने दोस्रो सातामा सुखद शो पाएको छ । देशभरका हलले ‘पिताम्बर’लाई आठौं दिनका लागि कम्तिमा १ सय ५८ शोज दिएका छन् । त्यसैगरी, ५१ दिनको यात्रामा लम्किरहेको ‘अञ्जिला’ले ३६ औं दिनमा सम्मानजनक कम्तिमा ४२ शोज पाएको छ । त्यसबाहेक ‘वसन्त’ २६ शोजमा खुम्चिएको छ भने ‘लाज शरणम’ले अझै ७ शोजमा आफुलाई टिकाईरहेको छ ।