वर्ष २०८१ : नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

फिल्म । नेपाली फिल्म क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो। यो वर्ष प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा गरेको व्यापारले इतिहास रचेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस) मा यस फिल्मले रु. ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्यांक छ।

जसले वि.सं. २०८१ मा मात्र नभई नेपाली फिल्मको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्यो। यसकारण वि.सं. २०८१ साल फिल्मका लागि स्मरण गरिने वर्ष बन्ने छ।चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यो वर्ष ६० फिल्म प्रदर्शन भइसकेका छन् भने दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ चैत २९ मा प्रदर्शन हुँदैछन्।

स्वदेशी फिल्म ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ । विदेशी फिल्मको नेपाल प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले पनि अहिले एउटा अङ्क भन्न कठिन रहेको बोर्डको भनाइ छ।यो वर्षको सुरुवातमा वैशाख १ गते प्रदर्शन भएको ‘डिग्री माइला’ ले ठीकठाक व्यापार गरिरहँदा वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ ले आक्रमक व्यापार गर्न सफल भयो ।

फिल्ममा समावेश गीत ‘बुझिन मैले’ सफल हुँदा त्यसको प्रभाव फिल्ममा पर्यो । केकी अधिकारीले अभिनय गरेको र सुलक्षण भारतीले निर्देशन गरेको फिल्मलाई प्रदर्शनअगाडि सामान्य रूपमा हेरिएको थियो । तर, यसले अकल्पनीय व्यापार गर्यो । बक्स अफिसको तथ्यांकअनुसार यस फिल्मले घरेलु बजारमा दश करोड ३ लाखको हाराहारीमा व्यापार गरेको छ ।

त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षको रूपमा हेर्न सकिन्छ । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ ले फिल्म क्षेत्रलाई चलायमान बनायो । यी दुवै फिल्म प्रदर्शनअगाडि सामान्य सोचिएका थिए । तर, प्रदर्शन भएपछि दर्शकले नै सिफारिस गरेका कारण सफलताको नयाँ ‘रेकर्ड’ बनाउन सफल भए ।

फिल्म वितरक तथा निर्माण समूहको दाबीअनुसार यो वर्ष घरेलु बजारमार्फत अघिल्ला उल्लेखित फिल्मसँगै ‘छक्का पञ्जा ५’, ‘होस्टेल ३’, ‘अन्जिला’ ले लगानी सुरक्षित गर्दै मुनाफा आर्जन गर्न सफल भए।

यसबाहेक विदेशी बजारसहित ‘घर ज्वाइँ’, ‘गाउँ आएको बाटो’ र ‘लाज शरणम्’ फिल्मले निर्मातालाई घाटा गराएन । फिल्ममा विषयवस्तु वा कथा आकर्षणको केन्द्र हुनु सुखद रहेको निर्देशक मिलन चाम्लिङले बताए । ‘फिल्मको कथामा दर्शक आकर्षित हुनु फिल्मकर्मीका लागि सुखद विषय हो, किनकि कलाकारमा केन्द्रित हुँदा त्यहाँ रचनात्मक पक्ष कमजोर हुन सक्छ। यसले नयाँ फिल्मकर्मीलाई पनि प्रेरणा दिन्छ’, निर्देशक चाम्लिङले भने । यो वर्षको सुरुवातमा प्रदर्शन भएका फिल्मको व्यापारले आशावादी बनाएको थियो । यो वर्ष प्रदर्शन भएको फिल्म ‘छक्का पञ्जा ५’ ले १५ करोड २१ लाख, फिल्म ‘१२ गाउँ’ ले १९ करोड ९१ लाख रुपैयाँ घरेलु बजारमा व्यापार (ग्रस) गरेको तथ्यांक बक्स अफिसमा छ ।

यी फिल्मको व्यापार हुनुको एउटा मुख्य कारण परिवार नै दर्शक बनेर फिल्म भवनसम्म आउनु हो । यसअघि पनि व्यावसायिक रूपमा सफल भएका अधिकांश फिल्ममा सबै उमेर समूहका दर्शकको उपस्थिति देखिएको छ । निर्देशक पूर्णेन्दु झाले फिल्मको पर्दामा देखिने पात्रसँग दर्शक जोडिने पारिवारिक फिल्मले घरेलु बजारमा सफलता पाउने गरेको भाष्यले यस वर्ष पनि निरन्तरता पाएको बताए ।

‘नेपालमा सफल भएका फिल्महरू आफ्नै मौलिक कथा बनेको पाइएको छ। यो वर्ष पनि सफल भएका फिल्महरूको सूची हेर्दा मौलिक कथा, सामाजिक विषयले दर्शकलाई फिल्म भवनसम्म आकर्षित गरेको पाइयो। यद्यपि व्यापार मात्र सोचेर फिल्म बनाउनु भने हुँदैन, किनकि यसले विविधतामा असर गर्नुका साथै बजारीकरण गर्छ। फिल्म भवनसम्म आउँदा दर्शकमा देखिएको उत्साह निःसृत हुँदा पनि देखियोस् भन्ने सोच राखेर फिल्म निर्माण गर्न सक्नुपर्छ’, निर्देशक झाले भने ।

फिल्म मनोरञ्जनका लागि हेर्ने गरिन्छ । यद्यपि यसले पार्ने प्रभावप्रति सोच्ने कमै हुन्छन्, यसकारण यस वर्ष भइरहेका कामले आशावादी हुने ठाउँ प्रसस्तै दिएको छ । कामको नतिजा आउँदो वर्ष देखिनेछ, जहाँ नेपाली फिल्मले कलात्मक र व्यावसायिक दुवै पाटोमा आफूलाई अब्बल सावित गर्ने फिल्मकर्मीको विश्वास छ।

यो वर्ष फिल्म भवनले सो सङ्ख्या नदिएको विवाद धेरै पटक उठ्यो । यसै कारण निर्देशक निश्चल बस्नेतले फिल्म ‘बेहुली फ्रम मेघौली’ को प्रदर्शन स्थगित गरेर ‘ओभर दि टप (ओटीटी)’ मा फिल्म प्रसारण गरे । यद्यपि न्यून शोबाट सुरु भएको ‘पूर्णबहादुरको सारङ्गी’ ले गरेको व्यापारका कारण सर्वकालीन सफल पनि बन्न पुग्यो ।

फलस्वरूप नेपाली फिल्मले गरिरहेको व्यापार देखेर वितरकले विदेशी फिल्म नेपालमा महँगो मूल्यमा ल्याउने सङ्ख्या कम गरेका छन् । विदेशी फिल्मकै कारण स्वदेशी फिल्म हेपिएको प्रश्न उठिरहँदा केही नेपाली फिल्मले विदेशी फिल्मलाई पराजित गर्दै सफल बनेपछि नेपाली निर्मातामा साहस र ऊर्जा थपिएको छ । राम्रो सङ्केत गरेका कारण पनि आउँदो वर्ष वि.सं. २०८२ नेपाली फिल्मका लागि राम्रो हुनेमा आशावादी हुन सकिन्छ।

भेषराज कार्की

कमेन्ट गर्नुहोस्