फिल्म । नेपाली फिल्मको भिडभाड चैत महिनामा धेरै देखिएको छ । महिना सुरू हुँदादेखि नै अन्त्यसम्म हरेक हप्ता फिल्म रिलिज रहेक छ । नयाँ वर्षलाई लक्षित गर्दै मसान्तमा फिल्महरू प्रदर्शनका लागि भिडभाड भएता पनि यसपटक सुरुआतदेखि नै फिल्मको भिड देखिएको छ । यस महिनाको पहिलो दिन नै प्रदर्शन भएको ‘राजगंज’ ले राम्रो सुरुआत गर्न सकेन ।
फिल्मले पाएको शो घट्नुका साथै यथावत रहेको शोमा दर्शकको उपस्थिति न्यून छ । यसको तुलनामा होलीलाई लक्षित गर्दै फागुन २९ मा प्रदर्शन भएको फिल्म ‘अञ्जिला’ र ‘आउट ल : दफा २१९’ मा दर्शकको राम्रो साथ रहेको छ । राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनी देखाइएको फिल्मले पहिलो तीन दिनमा दुई करोड ग्रस कलेक्सन गर्न सफल भएको वितरकले जनाएका छन् ।
दर्शकमार्फत सकारात्मक ‘वर्ड अफ माउथ’ पाएको फिल्म आउँदो दिनमा अझै राम्रो हुने बुझिएको छ । चैत ८ गते दुई फिल्म ‘द्रौपदी’ र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) प्रदर्शन हुँदैछ । नव निर्देशक केशव पाण्डेको निर्देशन रहेको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) ले युट्युबमा बल्ल एक लाख भ्यूज पाएको छ । यही मितिमा प्रदर्शन हुने ‘द्रौपदी’ मा डोल्पाको कथा रहेको छ ।
नेपाल आइडल रवि ओडको अभिनेताका रुपमा डेब्यु रहेकाले यो फिल्म चर्चामा छ । ऋषिराज आचार्यको निर्देशनमा तयार भएको फिल्ममा डोल्पाको सुन्दरता र संस्कृति देखाइएको छ । ‘द्रौपदी’ ऋषिराज आचार्यको निर्देशन रहेको फिल्म हो । यो फिल्ममा निर्देशक आचार्यका अलावा अभिनेत्री आश्विनी शाही, गायक रवि ओड, सुजाता तिमिल्सिना, कविराज भाम, जेल्सन अधिकारी, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतको अभिनय छ ।
यो चैत १५ गते ‘डोरी’ का निर्देशक अरुण लामाले थ्रिल र हररलाई ‘दाल भात तरकारीमा चटनी प्रयोग गरेर स्वादिलो बनाएको जस्तो’ तरिकाले राखिएको बताए । यसमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, बिरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको पनि प्रमुख भूमिका रहेको छ ।
चैत २२ गते ‘वसन्त’ रिलिज हुने अहिले यस महिनाको प्रतिक्षित फिल्म हो । प्रकाश सपूतको लेखन तथा निर्देशन रहेको फिल्म नेपालसँगै विदेशमा समेत वृहत प्रदर्शन हुँदैछ । फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल र प्रकाश घिमिरे लगायतका चलेका कलाकार छन् । फिल्म प्रकाश सपुतले निर्देशन गरेका हुन् ।
चैत २९ मा प्रदर्शन हुने फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ प्रतिक्षित छन् । चैत महिना नेपाली बक्सअफिसमा स्टारको दबदबा रहने देखिएको छ । कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’मा चलेका प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष लगायतको अभिनय छ ।
फिल्म ‘कर्मा’ सौरभ चौधरीले निर्देशन गरेका हुन् । फिल्ममा पनि विपिन कार्की, मुकुन भुषाल, उपासना सिंह ठकुरी, दिव्यदेवलगायत स्टार कलाकारले भरिएको छ ।












