‘रक अन’ मा पारस र रिहान

फिल्म । गत फागुन २३ देखि प्रदर्शनरत फिल्म ‘होस्टेल ३’को गीत ‘रक अन’ युट्युबमा सार्वजनिक गरिएको छ । नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्मको क्लिप पहिले सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । यसगीतमा फिल्मका कलाकारहरू पारस बम ‘कुलब्वाय’ र रिहान गिरीको साथमा समीर काजीको स्वर रहेको छ भने महेश ज्ञवालीको शब्द तथा सङ्गीत रहेको छ । एरेन्ज योगेश काजीले गरेका छन् ।

‘होस्टेल ३’ले पहिलो हप्ता नेपालमा मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षको दावी छ । यो फिल्म हाल नेपालबाहिर मध्यपूर्व, अस्ट्रेलिया लगायतका देशहरूमा समेत प्रदर्शन भइरहेको छ भने नेपालीहरूको बसोबास रहने प्राय: सबै देशहरूमा रिलिज हुने निर्देशक सशान कँडेलले बताए ।

‘हामी निरन्तर हल भिजिटमा छौँ र वितरकबाट पनि व्यापार रिपोर्ट लिइरहेका छौँ । दोस्रो हप्तामा पनि व्यापारको उत्साह कायमै छ । दोस्रो शनिवार त झनै व्यापक माहौल देखियो’, कँडेलले भने ।

यसमा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

यसमा माधव शर्माको पटकथा तथा संवाद लेखन तथा एसोसियट निर्देशन रहेको छ । फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।

कमेन्ट गर्नुहोस्