‘होम प्रोडक्सनको फिल्म भएकाले हिरोइन बनेकी होइन’ : सुपुष्पा

फिल्म । अभिनेत्री सुपुष्पा भट्टले आफू निर्मात्री भएकै कारण फिल्ममा अभिनय नगरेको बताएकी छिन् । फिल्म ‘फेरी रेशम फिलिली’ को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री भट्टले आफूले पात्रका लागि अडिसनसमेत दिएको बताइन ।

उनले भनिन्,‘म आफ्नै प्रोडक्सन हाउसको फिल्म भनेर अभिनेत्री बनेकी होइन । मेरो श्रीमान् लगानीकर्ता मात्र नभएर असल निर्माता हुनुहुन्छ, उहाँले फिल्म निर्माणमा हस्तक्षेप गर्नु हुन्न ।’

अभिनेत्री भट्टको श्रीमान् रौनकविक्रम कँडेलले फिल्मको निर्माण गरेका छन् । उनले यसअगाडि ‘कबड्डी कबड्डी’, ‘पुरानो डुङ्गा’ र ‘दिमाग खराब’ निर्माण गरिसकेका छन् । उनले आफ्ना लगानीमा निर्मित फिल्मक सम्पूर्ण अधिकार निर्देशकमै हुने बताए । महाशिवरात्रीको अवसर पारेर फागुन १४ मा प्रदर्शन यो फिल्म रेशम अर्थात् विनय श्रेष्ठ र हरिया अर्थात् कामेश्वर चौरसियामा केन्द्रित छ । यी दुईको जीवनमा विदेशिने मोहले ल्याउने उतारचढावलाई नै फिल्मको कथा बनाएका छन् निर्देशक तथा लेखक निरोज महर्जनले ।

अमेरिकाको भिषा लागेको रेशम र उसको लागेको भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको द्वन्द्व देखाइएको ट्रेलरमा रेशम र हरिया केन्द्रित छन् । अभिनेता श्रेष्ठले नौं वर्षपछि पात्रलाई उस्तै रुपमा प्रस्तुत गर्नुको कारण रेशम आफ्नो आत्मासँग जोडिएको बताए ।

फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको फिल्मलाई सुरेन्द्र पौडेलको सम्पादन गरेका छन् । सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छिन् ।

कमेन्ट गर्नुहोस्