अमेरिका जाने मोहमा केन्द्रीत ‘फेरि रेशम फिलिली’ ट्रेलर

फिल्म । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट रिलिज हुने फिल्म ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक गरिएको छ । आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा पछिल्लो समय नेपाली युवामा देखिएको विदेशिने मोहलाई व्यंग्य गरिएको छ । अमेरिका जान एक युवाले गर्ने संघर्ष र उसलाई समाजले दिने प्राथमिकताको कथा प्रस्तुत गरिएको फिल्म रेशम अर्थात् विनय श्रेष्ठ र हरिया अर्थात् कामेश्वर चौरासियाको वरपर घुमेको छ ।

‘फेरि रेशम फिलिली’ ले अहिलेको सामाजिक यथार्थतालाई प्रस्तुत गर्ने लेखक तथा निर्देशक निरोज महर्जनले बताए । उनले भने,’फिल्मको ओर्जिनल टेस्टलाई समातेर नयाँ कथा बुनिएको छ । फिल्मले मनोरञ्जनसँगै संदेश पनि प्रवाह गर्ने छ ।’

फिल्ममा सुपुष्प भट्ट, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा रहेको छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मको रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।

कमेन्ट गर्नुहोस्