फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘एक्टर: टेक वन’ दोस्रो हप्तामा प्रवेश गरेको छ । प्रदर्शनपूर्व यसलाई प्रतिक्षित रुपमै हेरिएको थियो । किनकि यसमा प्रदीप खड्का छन् । उनी अहिले नेपालमा महङ्गा अभिनेतामा पर्छन् । उनलाई निर्माण पक्षले पनि ‘सुपरस्टार’ को ट्याग दिईसकेको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार दोस्रो हप्तामा समेत यसको एकसय हाराहारीमा शो छ ।
यद्यपि निर्माण पक्षले यसको व्यापारका बारेमा सार्वजनिक रुपमा भन्न सकेको छैन । यसअगाडि अभिनेता खड्काले अभिनय गरेका प्राय फिल्मको दैनिक व्यापारको बारेमा निर्माण पक्षले जानकारी दिने गरेका थिए । यद्यपि यसपटक निर्माण पक्षले आधिकारिक रुपमा व्यापार बारे बताएका छैनन् । अभिनेता खड्का फिल्मकै डायस्पोरा प्रदर्शनमा सहभागी भइरहदा नेपालमा दर्शक पाउन मुस्किल देखिएको छ । त्यसो त डायस्पोरामा पनि उल्लेख्य उपस्थिति भन्ने खबर मिडियासम्म आइपुगेको छैन ।
‘सुपरस्टार’ ट्याग पाएका अभिनेताले प्राय बक्सअफिसमा आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ । अभिनेतालाई मन पराइएकै भरमा फिल्म हेर्ने आउने दर्शक सङ्ख्याले लोकप्रियताको मापन गर्छ । यद्यपि हालसम्म कुनै पनि व्यापारिक आँकडा सार्वजनिक नगर्नुले निर्माण पक्षले कतै भिडाएको ‘सुपरस्टार’ को ट्याग गरुङ्गो भएको त होइन ? भन्ने प्रश्न उब्जिएको छ ।
राजन भुसाल निर्देशित फिल्ममा आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालासँगै दिव्य देव लगायतका कलाकारले अभिनय गरेका छन् ।