फिल्म। आउँदो चैत ८ गतेदेखि विश्वभर प्रदर्शन तयारीमा रहेको फिल्म ‘द्रौपदी’को गीत ‘कर्णाली कटौला’ सार्वजनिक गरिएको छ । आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा डोल्पाको रमणीय दृश्य कैद गरिएको छ । गीतमा पटकथा लेखक तथा निर्देशक ऋषिराज आचार्यसहित रवि ओड, आश्विनी शाही, सुजाता तिमल्सिना लगायतका कलाकार देखिएका छन् । गीतमा रवि ओड र इन्द्रकला राईको स्वर, निर्देशक आचार्यको शब्द र गायक ओडकै सङ्गीत रहेको छ ।
‘नेपालको वास्तविक सुन्दरता यो फिल्ममा देख्न सकिन्छ’ उनले भने, ‘सोही कारण यसलाई अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर निर्माण गरिएको छ । फिल्म हेरेका दर्शकले नेपालीपनको आभास गर्नेछन् ।’
फिल्मलाई डोल्पाको प्रसिद्ध पर्यटकीय थलो शे-फोक्सुण्डो लगायतका थलोमा खिचिएको छ । निर्देशक आचार्यले दुर्गम थलोको पर्यटन प्रवर्द्धनमा पनि फिल्मले भूमिका खेल्ने बताए ।
आरबी मूभिजको ब्यानरमा निर्माण भएको मौलिक कथावस्तुको फिल्ममा ‘नेपाल आइडल’ फेम्ड रवि ओड, आश्विनी शाही, सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारी र आचार्यले अभिनय गरेका छन् ।
यसमा ओडले संगीत दिएका छन् । निर्मातामा आचार्यसहित प्रकाश ज्ञवाली छन् । सौरभ शर्माको पाश्र्वसंगीत छ । अनिल महर्जनको सम्पादन, विजय आचार्यको कला, मोहन झिल्लुको छायांकन छ ।