लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२४’

फिल्म । बेलायतको लन्डन सहरमा ‘नेपाली फिल्म फेस्टिभल २०२४’ हुने भएको छ । जुलाई ७ देखि २० सम्म हुने उक्त फेस्टिभलमा नेपालबाट सहभागी हुन् जुलाई १८ मा त्यसतर्फ कलाकारसहितको टोली प्रस्थान गर्ने नेपालका लागि व्यवस्थान गरिरहेको द दिनेश डिसी प्रोडक्सनले जानकारी दिएको छ । आज यहाँ मध्य बानेश्वरस्थित घराना रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कम्पनि प्रमुख दिनेश डिसीले महोत्सवमा नेपालबाट चौध जना कलाकारको टोली सहभागी हुने जानकारी दिए ।

‘आयोजना भइरहेको दोस्रो संस्करणमा नेपालबाट सहभागी हुने कलाकारसँगै महोत्सव विषयमा जानकारी दिने उदेश्यले पत्रकार सम्मेलनको आयोजना गरेका हौँ । विदेशी भूमिमा नेपाली कला, संस्कृति र फिल्मको बजारलाई बढाउन टेवा पुर्याउने उदेश्यले महोत्सवको आयोजना भइरहेको छ’, डिसीले भने ।

प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ मार्फत सुरू भएको महोत्सवमा ‘हल्कारा’,‘टुल्की’,‘प्रसाद २’ लगायतका चलचित्र प्रदर्शन गरिनेछ भने समापन समारोहमा ‘सरिता’ फिल्मको प्रदर्शन हुनेछ । महोत्सवले नेपालमा बनिरहेको फिल्मको नवीनतम शैलीलाई प्रवासी नेपाली माँझ प्रस्तुत गर्ने विश्वास आयोजकको छ । महोत्सवलाई सम्पन्न गर्न चलचित्र विकास बोर्ड, वाईवाई नेपाल लगायतले सहाकार्य गरेका छन् ।

महोत्सवमा नेपालबाट सङ्गीतकार शम्भुजित बास्कोटा, अभिनेता भुवन केसी, दिलिप रायमाझी, प्रदीप खड्का, पुजा शर्मा, बेनिशा हमाल, कविता नेपाली, नरेन खड्का, एलिश कार्की, अनिता चलाउने, दिनेश डिसी तथा आफ्नो पेशागत कामको लागि हाल बेलायतमै रहेका कलाकर्मीहरु प्रदीप शाही, दिया पुन, शर्मिला बर्देवा, रुपक डोटेल लगायत सहभागी हुनेछन् ।

महोत्सवमा नेपाली गीतसङ्गीतमा विशिष्ट योगदान पुर्याए वापत सङ्गीतकार बाँस्कोटालाई ‘दीर्घसाधना सम्मान’ मार्फत सम्मानित गरिनेछ । सङ्गीतकार बाँस्कोटाले आफुलाई उक्त सम्मान योग्य ठानेको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले भने,‘अहिले नेपाली फिल्मको बजार अन्तर्राष्ट्रिय रुपमा बलियो बनिरहेको छ । यस्ता गतिविधीले प्रवासमा रहेर कलाकर्म गरिरहेकालाई प्रोत्साहन मिल्ने छ । मलाई पनि यस्ता सम्मानले अझैँ उर्जा थप्छ ।’

अभिनेता प्रदीप खड्काले नेपाली फिल्मलाई लक्षित गर्दै प्रवासमा महोत्सव हुनु सुखद रहेको बताए । उनले भने,‘महोत्सवसँग जोडिएका हस्तीले पनि त्यहाँ हुने गतिविधीले नेपाली फिल्मलाई प्रवर्द्धन गर्छ भन्नेमा ढुक्क छु ।’

कमेन्ट गर्नुहोस्