फिल्म । आजदेखि एकसाथ तीन फिल्म ‘मम्मी’, ‘जुना’ र ‘सारङ्ग’ को प्रदर्शन सुरू भएको छ । बाल मनोविज्ञान र मित्रताको कथा देखाइएको फिल्म ‘सारङ्ग’ लाई प्रशान्त तामाङले निर्देशन गरेका छन् । ‘एउटा परिवारमा हुने आपसी कलहले बालबालिकामा पार्ने असर, बाल्यकालमा जोडिने मित्रता र सामाजिक उत्तरदायित्वलाई फिल्ममा समेटेका छौँ’, निर्देशक तामाङले भने । यसमा उत्पल झा, ऋचा शर्मा, आदित्य कार्की, सम्राट थापा, सुरज तमु, समीरमणि दीक्षित लगायतका कलाकारले अभिनय गरेका छन् ।

आजदेखि नै प्रदर्शन सुरु भएको फिल्म ‘मम्मी’ निरन्तर भन्दा फरक ‘हरर साइकोलोजिकल–थ्रिलर’ विधामा तयार गरिएको निर्देशक समर निरौलाले जानकारी दिए । ‘नियमित बनिरहेका फिल्म भन्दा फरक प्रयास गरेका छौँ । मैले केही फिल्म र टेली शृङ्खलामा काम गर्दा नै सोचेको विषयलाई यसमा समेटेको छु । यो विषय नेपाली फिल्म हेर्ने दर्शकका लागि नयाँ हुनेछ’, निर्देशक निरौलाले भने ।
यसमा प्रियंका कार्की, सुलक्षण भारती, दीया मास्के, समीप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट, घनश्याम जोशीलगायतका कलाकारले अभिनय गरेका छन् । प्रदर्शन भइरहेको तेस्रो फिल्म ‘जुनाः एक व्यथा’ को निर्माण बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले गरिएको निर्देशक जीवन सेञ्चुरीले बताए ।

उनले फिल्म हेर्नेले बाल विवाहले निम्त्याउने घटनाक्रमलाई बुझ्ने र त्यसको विरुद्ध समाजमा आवाज उठाउने बताए । दीपकप्रसाद घिमिरेको निर्माण रहेको फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा लगायतका कलाकारले अभिनय गरेका छन् ।











