फिल्म । अभिनेता सलोन बस्नेत बाल्य कालदेखि नै फिल्ममा काम गरिरहेका छन् । निर्देशक शोभित बस्नेतको छोरा भएका कारण उनले बाल्य अवस्थामै फिल्ममा अभिनय मात्र गरेनन्, फिल्मकर्मीसँग सामीप्यता पनि बढ्यो । उनै सलोन ‘होस्टेल’ मार्फत सन् २०२१ मा अभिनेता बने । त्यसयता विभिन्न फिल्ममा काम गरिरहेका सलोन फिल्म ‘रङ्गी’ मार्फत निर्माता पनि बनेका छन् ।
फिल्मको प्रचारप्रसारको सुरुआतका लागि पहिलो गीत सार्वजनिक गरेका सलोनले भूमिका थपिँदै जादा मान्छे चिनेको बताएका छन् । उनले भने,‘निर्माता बनेपछि आफ्ना र पराई चिन्ने मौका पाएँ । अहिले मलाई हुने सानो सहयोग पनि ठूलो अर्थ राख्ने हुन्छ । जे होस्, यसपटक मेरा लागि छन् वा बोलेका मात्र हुन् भन्ने बुझ्ने मौका पाएँ ।’
उनले कसैको पनि नाम त लिएनन्, तर फिल्म बनाउँदा को नजिकको र को पराई रहेछ भनेर चिन्न पाएको बताए । किनकि उनले बाल कलाकारदेखि अहिलेसम्म काम गरेका फिल्मकर्मीबाट विभिन्न अपेक्षा गरेका थिएँ । उनले आफ्नो परिवारबाट भने हौसला र साथ पाएकाले फिल्मको सोचलाई मुर्तरुप दिन सम्भव भएको खुलाए ।
लामो समयदेखि सलोन सलिना फिल्मस्बाट फिल्म बनाउँदै आएका सलोनले यसपटक नयाँ ब्यानर सुरु गरेका छन् । उनले आफ्नो छोरीको नामबाट नयाँ व्यानर सान्भी इन्टरटेनमेन्ट स्थापना गर्दै फिल्म निर्माण गरेका हुन् ।
‘मलाई नयाँ व्यानरमा काम गर्न मलाई सुझाव मेरो ड्याड नै दिनुभएको हो । सबै कुरा छोरीबाट नै सुरु भएको छ । यसैले, मैले छोरीको नाममा नै ब्यानर स्थापित गरेको हुँ’, सलोनले भने ।
सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।