फिल्म । निर्देशकीय डेब्यु फिल्म मार्फत अनि आफुलाई एक किसिमको दर्शकमा स्थापित गर्ने निर्देशक हुन् विनोद पौडेल । उनको लेखन रहेको ‘साँघुरो’ को सफलतापछी उनले निर्देशनमा ‘बुलबुल’ मार्फत डेब्यु गरे । डेब्यु फिल्ममै उनले नेशनल अवार्ड जिते । उनको फिल्मलाई समिक्षकले त रुचाए नै साथै दर्शकको पनि माया प्राप्त भयो ।
यिनै निर्देशक पौडेलको दोस्रो फिल्मको स्क्रिृप्ट एसियन प्रोजेक्ट मार्केट (एपीएम)मा छनोट भएको छ । विश्वभरका ६० देशबाट प्राप्त ३८४ वटा स्क्रिप्टबाट पोडेलको स्किृत अन्तिम २९ मा अटाएको हो । भुटानी शरणार्थीको कथामा बन्ने फिल्मलाई पौडेलले ‘एक्रोन इन्टरनेसनल’ नाम दिएका छन् । एसियाका फिल्ममेकरलाई वर्ल्ड सिनेमासम्म पुर्याउने उद्देश्यले सुरु भएको एपीएममा यो साल राजेश खत्रीले बनाउन लागेको श्याम श्वेत तस्बिर पनि छनोट भएको छ ।
यो फिल्मलाई मिन भामले निर्माण गर्न लागेका हुन् । ‘एक्रोन इन्टरनेसनल’लाई भने यातिन पर्खानीले बनाउन लागेका हुन् । एपीएममा छनोट भएका फिल्मका निर्देशकले विश्वभरबाट भेला भएका निर्मातालाई आफ्नो स्टोरी पिच गर्नेछन् । यसरी सुनाएका स्टोरी निर्माताले मनपराएमा लगानीका लागि सहकार्य गर्नेछन् । विनोदले आफ्नो फिल्म निर्माणका लागि सवा पाँच करोड रुपौयाँ लाग्ने बताएका छन् ।
‘बुलबुलको तुलनामा अलि महंगो फिल्म हो यो । एक्लैले लगानी गर्न सक्ने अवस्था थिएन । एपीएममा छनोट भएपछि निर्माता खोज्ने बाटो सहज भएको छ,’पौडेलले भने । गत वर्ष विनोदले निर्देशन गरेको फिल्म ‘बुलबुल’ ले सार्क फिल्म फेस्टिभलमा अभिनेत्री तर्फ क्रिटिक्स अवार्ड प्राप्त गर्न सफल भएको थियो । नेपालमा पनि फिल्मले निर्देशन र अभिनेत्री गरी दुई विधामा राष्ट्रिय अवार्ड प्राप्त गरेको थियो ।











