फोटो पत्रकार डङ्गोलले समीक्षालाई बनाए लक्ष्मी

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

यसै सन्दर्भमा फोटो पत्रकार कुवेर डङ्गोलले माता लक्ष्मीको स्वरूपमा मोडल समीक्षा राउतलाई तयार गरेर फोटोशुट गरेका छन् । मोडल समीक्षालाई लक्ष्मी झैँ सजाएर फोटोपत्रकार डङ्गोलले आफ्नै स्टुडियो केडी नाइन स्टुडियोमा फोटोशुट गरेका हुन् । उनले यसअगाडि पनि शिवरात्री, गाईजात्रा, कृष्णाष्टमीमा सोही प्रकृतिको फोटोशुट गरेका थिए ।

उनले विशेषसमयमा गरिने त्यस्ता फोटोशुटले त्यस्ता चाडपर्वलाई विशेष बनाउने बताए । ‘मैले फोटो पत्रकारिता गरेदेखि नै यस्ता विशेष अवसरलाई लक्षित गर्दै फोटोशुट गर्ने गरेको छु । यस्ता फोटोको छुटै महत्व हुन्छ । किनकि यसले हाम्रो कला र संस्कृतिलाई नयाँपुस्तासम्म पु¥याउन पनि टेवा पु¥याउँछ जस्तो लाग्छ’, फोटो पत्रकार डङ्गोलले भने ।

यस फोटोशुटमा मोडल समीक्षालाई माता लक्ष्मी बनाउन फेसियल हाउसले मेकअप, कुशुम द बुटिकको भेषभूषा र हुन्छ डटकमको ज्वेलरी प्रयोग गरिएको फोटो पत्रकार डङ्गोलले बताए । टेलिभिजनमा कार्यक्रम निर्माता हुँदै आफ्नो पत्रकारिता सुरू गरेका डङ्गोलले पछिल्लो समय कला विधामा रहेर फोटो पत्रकारिता गर्ने गरेका छन् ।

उनले केही समय अन्नपूर्ण पोष्टको साप्ताहिक पत्रिका सम्पूर्णका लागि ब्लोअप पनि शुट गरेका थिए । त्यसपछि उनले जोय नेपाल डटकममार्फत आफ्नो फोटो पत्रकारितालाई निरन्तरता दिईरहेका छन् । गत वर्ष उनले अर्का फोटो पत्रकार नरेन्द्र श्रेष्ठसँग मिलेर पुर्व कुमारी समिता बज्राचार्यको जीवनयात्रा दर्साउने तस्विर प्रदर्शनी गरेका थिए ।

कमेन्ट गर्नुहोस्