खगेन्द्र र निश्चलसँग एउटै फिल्ममा आर्यन

फिल्म । अभिनेता आर्यन सिग्देलले नयाँ फिल्म ‘के घर के डेराः घर नम्बर २’ साइन गरेका छन् । उनी फिल्ममा प्रवेश भएसँगै खगेन्द्र लामिछाने र निश्चल बस्नेतसँग स्क्रिन शेयर गर्नेछन् । आर्यन पहिलोपटक निश्चल र खगेन्द्रसँग देखिन लागेका हुन् । फिल्मको निर्माणपक्ष र आर्यनबिच लिखित सम्झौता भएपछि निर्माण पक्षले यसको घोषणा गरेको हो । आफ्नो भूमिका र फिल्मलाई लिएर आर्यन भने उत्साहित देखिएका छन् ।

आर्यनले अभिनय गरेको फिल्म ‘पुजार सार्की’ जेठ १० गतेबाट रिलिजमा आएको थियो । यो फिल्म बक्स अफिसमा हिट भयो । यसपछि, आर्यनको माग फिल्म क्षेत्रमा बढेको देखिन्छ । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन साउनको २५ गतेबाट सुरु हुँदैछ । निर्माणपक्षका अनुसार, अब फिल्मका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा बुद्धि सागरले लेखिरहेका छन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ । सामाजिक कथावस्तुलाई रोचक तरिकाले फिल्ममा प्रस्तुत गर्ने निर्देशक खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्