
फिल्म । अभिनेता दयाहाङ राई समुदायको संस्कृतिमा बनिरहेका फिल्म देखिरहेका छन् । प्रदर्शन भईसकेको ‘जारी’ मा लिम्बू समुदायको कथा, ‘दयारानी’ मा गुरुङ समुदायको कथा,‘गाउँ आएको बाटो’मा राई समुदायको कथा र प्रदर्शन हुने ‘घरज्वाइँ’ मा मगर समुदायको कथा छ । जसमा उनी सोही समुदायको संस्कृतिलाई प्रस्तुत गर्दै अभिनय गरेका छन् । उनी प्रदर्शन भइसकेका उल्लेखित समुदायको युवा वा प्रतिनिधिको रुपमा रुचाइएका छन् ।
आफूलाई समुदाय, ग्रामिण भेगको कथालाई पर्दामा ल्याउन उत्साह लाग्ने अभिनेता राईले बताए । उनले भने,‘मैले कलात्मक चलचित्रमार्फत नेपाली विषयलाई विश्वभर पु¥याउन सक्छु । त्यसैले त्यस्ता चलचित्रमा काम गर्ने मेरो इच्छा हुन्छ । त्यस्ता निर्माता र निर्देशकलाई प्रोत्साहन गर्नु हामी कलाकारको दायित्व पनि हो । किनकि ती चलचित्रले नयाँ बजार निर्माणमा भूमिका खेल्छ ।’
अभिनेता राईले सिनेमा ‘घरज्वाइँ’मा अन्य समुदायमा घर गरेर जीविकोपार्जन गर्न सक्ने बुहारी खोज्ने झैँ ज्वाइँ खोज्ने प्रचलन रहेको बताए । उनले भने,‘बुहारीले समाज, परिवार, सासुससुरालाई रिझाउन सक्नुपर्छ तर त्यो बाध्यता छोरा वा ज्वाइँलाई हुदैन । तर यहाँ ज्वाइँको सक्षमता पनि हेरिन्छ । एउटी महिलाले मात्र आफूलाई प्रमाणित गर्नुपर्ने सन्तुलित सुनिन्दैन ।’
सार्वजनिक ट्रेलरमा काठमाडौंमा बसेर हेर्दा केही आपत्तिजनक जस्तो लाग्ने शब्द प्रयोग भए पनि फिल्म खिचिएको भूगोलका लागि भने त्यो सामान्य शब्द रहेको दयाहाङले प्रष्ट पारे ।

निर्देशक अनिल बुढा मगरले फिल्ममा माटोको कथा रहेको बताए । फिल्म, साहित्य वा सङ्गीतमा माटोको प्रतिबिम्ब झल्किनु पर्ने र त्यहीअनुसार बुझ्नुपर्नेमा उनले जोड दिए । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैँले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । यसमा दयाहाङसँगै मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतका कलाकारले अभिनय गरेका छन् ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायांकन, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भण्डारीको सम्पादन रहेको छ । फिल्मलाई नेपालमा आरआर फिल्म्स र डायसपुरामा एमएसएम इन्टरटेन्मेन्ट्स अष्ट्रेलियाले प्रदर्शनका लागि वितरण गर्दैछ ।
