फिल्म । जनकपुरधाममा दुई दिने ‘अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल’ सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फेस्टिभलको उद्घाटन गर्दै मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा यस्ता गतिविधीले टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले भने,‘फिल्म फेस्टिभल आउँदो समयमा मैथिली फिल्मको बजारलाई वृहत र विस्तार गर्न मदत गर्छ भन्ने लागेको छ । मैथिली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाउने फिल्म निर्माण हुनु गौरवको विषय हो ।’
वरिष्ठ कलाकार नीर शाहले मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउनेमा जोड दिए ।
‘फेस्टिभल’मा मिथिलाञ्चल क्षेत्रका प्रसिद्ध कलाकार, लेखक, गायक तथा निर्देशक सहभागी छन् । दुई दिनसम्म चल्ने ‘फिल्म फेस्टिभल’ सङ्घीयता कार्यान्वयन भएपछि पहिलो पटक आयोजना गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चारको संयुक्त आयोजनामा जनकपुरधामको गिरिजा चलचित्र मन्दिरमा सुरु भएको ‘फेस्टिभल’मा ललका पाग, लोटस ब्लुम्स, समानान्तर गरेर तीन वटा फिचर फिल्मको प्रदर्शन हुने कार्यक्रम छ ।
यसैगरी वृत्तचित्र गुमकी र विद्यापत तथा लघु फिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुने महोत्सव निर्देशक रमेश रञ्जन झाले जानकारी दिए । अन्तर्राष्ट्रिय मैथिली ‘फिल्म फेस्टिभल’को क्रममा मैथिली फिल्मको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली फिल्मलगायतका विषयमा विमर्श गरिएको छ ।