
फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको नवौँ सातामा प्रवेश गरेको छ । षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा पार गरिसकेको छ । अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको ‘महाजात्रा’ नवौँ सातामा काठमाडौँ उपत्यकाका क्युएफएक्स अन्तर्गत सिभिल मल, छायाँ सेन्टर र भक्तपुरमा प्रदर्शनरत छ । यस्तै, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, रञ्जना सिनेप्लेक्स, विग मुभिजमा प्रदर्शनरत छ ।
गत वर्ष विसं २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरू गरिएको ‘महाजात्रा’ ले अहिलेको समयमा समेत ५१ औँ दिनको यात्रा पार गर्नु सम्पूर्ण फिल्म उद्योगकै लागि खुसीको खबर रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताए ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ ।
