‘नेपाल बस्छु, काम गर्न मात्र भारत जान्छु’ : मनिषा

फिल्म । अभिनेत्री मनिषा कोइरालाले पछिल्लो समय आफू नेपालमै बस्ने र काम पर्दा मात्र भारत जाने गरेको बताएकी छिन् । अभिनेत्री कोइरालाले पछिल्लो समय अभिनय गर्नुभएको शृङ्खला ‘हिरामन्डी : द डायमन्ड बजार’ को प्रचारप्रसार सकेर नेपाल फर्किएकी हुन् ।

‘मैले भारतका ठूला निर्देशक सञ्जयलीला भन्सालीसँग पुनः काम गर्न पाएँ । यसले मेरो करिअर पुनः सुरू भएको आभाष भएको छ । किनकि भन्साली भारतका प्रसिद्ध निर्देशक हुन्’, अभिनेत्री कोइरालाले भनिन्,‘धेरै वर्षपछि मैले शृङ्खलामा मुख्य भूमिका निर्वाह गरें । मैले सबैमार्फत शुभेच्छा पाएकी छु । यसले मलाई आगामी यात्रा तय गर्न मदत गर्नेछ ।’

उनले शृङ्खलामा सक्दो मेहनत गरेको बताइन । डिजिटल प्लेटफर्म नेटफ्लिक्समार्फत सार्वजनिक भएको शृंखलाको मिश्रित प्रतिक्रियालाई उनलाई स्वाभाविक लागेको छ ।

उनले भनिन्,‘हामीले काममा कुनै सम्झौता गरेका छैनौं । यो भारतकै सबै भन्दा महङ्गो शृङ्खला हो । तर कसैलाई मन पर्छ, कसैलाई मन पर्दैन । मिश्रित प्रतिक्रियालाई हामीले स्वाभाविक रुपमा लिनुपर्छ । साथै, मैले नेपालसँगै विश्वभरका नेपाली र मेरो शुभचिन्तकमार्फत प्राप्त गरिरहेको मायालाई धन्यवाद दिने शब्द छैन ।’

उनले नेपाल आउनु अगाडि निर्देशक भन्सालीलाई छिटै सहकार्य गर्न आग्रह समेत गरेकी थिइन् । ‘हामीले खामोसी चलचित्रमा काम गरेको २८ वर्षपछि शृङ्खलामा काम गर्यौं । अब यत्रो समय नकुराउनुस् भनेकी छु । उहाँ पनि केही चलचित्रलाई लिएर व्यस्त हुनुहुन्छ’, अभिनेत्री कोइरालाले भन्नुभयो ।

उनले ‘हिरामन्डी : द डायमन्ड बजार’ मा ‘मल्लिका जान’ को भूमिका निर्वाह गरेकी छिन् । आठ भागको शृङ्खलामा भारत विभाजन हुनुअगाडिको कथालाई देखाईएको छ ।

कमेन्ट गर्नुहोस्