मिश्रित समाजको कथामा ‘मनसरा’

फिल्म । निर्देशक उपेन्द्र सुब्बाले ‘मनसरा’ फिल्ममा मिश्रित समाजको विषयलाई देखाईएको बताएका छन् । हालै पोखरामा आयोजित पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले समाजमा भएका घट्नाहरुलाई आधार बनाएर कथा तयार गरिएको बताए । ‘मिश्रित समाज भएकाले यसमा सबै दर्शकले आफू वा आफ्नो समाज देख्नुहुनेछ । मलाई सामाजिक विषयलाई ठूलो पर्दामार्फत धेरैसम्म पुर्याउन मन लाग्ने भएकाले यस्तै विषयमा फिल्म बनाउने गरेको छु’, निर्देशक सुब्बाले भने ।

निर्देशक सुब्बाले ‘मनसरा’ को विषयमा समेत प्रस्ट्याए । उनले भने,‘पुर्वतिर पाइने धान जसको डाठ अलिक कडा हुन्छ । वरिपरि अन्य बाली लगाएता पनि उक्त धानमा कुनै असर नभई उत्पादन हुने हुँदा उक्त विषयवस्तुलाई समाजसङ्ग जोड्ने प्रयास फिल्मको माध्यम गरेको छु ।’

अभिनेता प्रविन खतिवडाले श्रमिक, परिवारबाट विछोड भएका मान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिएको बताए । ‘यो सम्पूर्ण परिवारसँगै बसेर हेर्न मिल्ने फिल्म हो । यसमा मैले कृषकको भूमिकामार्फत स्वरोजगारको विषयलाई प्रोत्साहन गरेको छु ।’

अभिनेत्री मिरुना मगरले फिल्ममा उठान गरिएको विषयलाई समाजको वास्तविक कथा भनिन् । ‘मैले पाएको भूमिकालाई जीवन्त बनाउने प्रयास गरेकी छु । मनसराकै विम्बको रुपमा मेरो पात्रलाई चित्रण गरिएको छ । यो फिल्मले आत्मनिर्भर महिलाको कथा सङ्घर्षलाई देखाउँछ’, अभिनेत्री मगरले भनिन् ।

अर्की अभिनेत्री मेनुका प्रधानले केही समयपछि पर्दामा आएको अनुभव साटिन । कार्यकारी निर्माता सिजन दाहालले सामाजिक विषय भएता पनि फिल्म पूर्ण मनोरन्जनात्मक रहेको जानकारी गराए ।

फिल्ममा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको समेत अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् भने यसमा विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह-निर्माता छन् । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवल राज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्