‘डिग्री माइला’ टिम मोफसलमा

फिल्म । गत चैत ३० गतेदेखि प्रदर्शनरत फिल्म ‘डिग्री माइला’ का कलाकार तथा निर्माता मोफसल भ्रमणमा निस्किएका छन् । काठमाडौँ उपत्यकाका हलमा दर्शकसँग भेटघाट गरेका अभिनेता दयाहाङ राई, अभिनेत्री आँचल शर्मा, अभिनेता विजय बराल, निर्माता मणिराम पोखरेल यतिबेला पूर्व पुगेका छन् । कोशी प्रदेशको राजाधानी बिराटनगरबाट सुरु हुने यो भेटघाट बिर्तामोड पुगेर टुङगिने निर्माता पोखरेलले बताएका छन् ।

उनले मङ्गलवार बिहान १० बजे बिराटनगर स्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर प्रेस तथा ११:३० को शोमा सिनेमा हेर्न आएका दर्शकहरुसँग भेटघाट एवम् संवाद गर्ने बताए । यसका साथै उनीहरु विराटनगरका अन्य हलमा समेत पुग्नेछन् ।

बिराटनगरपछि टिम इटहरीमा इलाइट सिनेमा हल र इटहरी क्यूएफएक्स पुग्नेछ भने साँझमा ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज पुग्नेछ । यस्तै टिम बुधवार बिहान ११ बजे दमक स्थित डि म्याक्स सिनेमा हल र दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स र ५ बजे पाथिभरा सिनेप्लाजामा पुग्ने तालिका रहेको निर्माता पोखरेलले बताए ।

‘डिग्री माइला’ले दुई दिनमा तीन करोड छ लाखको ग्रस कलेक्सन गरेको निर्माण पक्षले दावी गरेको छ । रामबाबु गुरुङ निर्देशित फिल्मले आफ्नो मास्टर डिग्रीको शैक्षिक योग्यताको अहमताले भरिएको ‘डिग्री माइला’ पात्रा र समाजले ऊसँग राखेको अपेक्षा तथा परिस्थितिजन्य तनावको कथा पेस गर्छ। फिल्ममा दयासँगै आँचल शर्मा, प्रकाश घिमिरे, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्