‘पाइरेसी निर्मुल गर्न दर्शकको साथ चाहिन्छ’ : निर्देशक चाम्स

फिल्म । निर्माता तथा निर्देशक मिलन चाम्सले फिल्मलाई पाइरेसीबाट बचाउनु सबैको साझा दायित्व रहेको बताएका छन् । उनले ‘गोर्खा वारियर’ को हालै आयोजित विशेष शोमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाली फिल्मको बढिरहेको पाइरेसीलाई कम गर्न दर्शकको मुख्य हात रहने बताए ।

‘नेपाली फिल्मले विभिन्न कुराहरूसँग जुधेर हलसम्म आइपुग्छ । त्यसकारण पाइरेसीबाट बचाउनु सम्बन्धित मन्त्रालय, चलचित्र विकास बोर्ड, चलचित्र भवन, दर्शक र हामी मेकर्स सबैको साँझा दायित्व हो । पाइरेसी कम गर्न दर्शकले साथ दिनु जरुरी छ’, निर्देशक चाम्सले भने । उनले हलमा फिल्म हेरिरहदा रमाइलोको लागि मोबाइलबाट खिचिने सामान्य दृश्यले दर्शकलाई रमाइलो दिएता पनि मेकर्सलाई भने पिडा दिनसक्ने उनले बताए ।

निर्देशक चाम्सले दर्शकले फिल्म हेरेर सिफारिस गर्न थालेपछि हलमा चाँप निरन्तर बढिरहेको बताए । उनले शुक्रबार काठमाडौँ उपत्यकाका अधिकाँस हलमा हाउसफुल र ७० प्रतिशत भन्दा माथि दर्शकको उपस्थिति रहेको जानकारी दिए । उनले भने,’हामीले जसरी गोर्खालीको वीरतालाई पर्दामा ल्यायौ, दर्शकले त्यसरी नै साथ दिईरहनु भएको छ । हामीले पुर्खाको वीरताको गाथालाई अगाडि ल्याएका छौँ । यो अहिलेको पुस्तासम्म ल्याउनु जरुरी थियो ।’

निर्माता सुमन राई दुईसय ९ वर्षको इतिहास पर्दामार्फत नयाँ पुस्ताले महसुश गरेको बताए । उनले भने,’यो फिल्म सफल भएको छ । अब हामी यसको सिक्वेल अर्थात् गोर्खा वारियर २ को तयारीमा जुट्ने छौँ ।’

फिल्मको एसोसियट वितरक संस्था रीच इन्टरटेनमेन्टका करण श्रेष्ठले हलमा दर्शकको उपस्थिति बढिरहेको र त्यसको प्रभाव बक्सअफिसमा देखिने बताए । ‘हामीले हल भिजिटकै क्रमलाई बढाएकोले के कति कलेक्सन गरेका हौँ भन्ने यकिन गरेका छैनौँ । तर, हाम्रो राम्रो अंक आउँछ, हामी छिटै सम्पूर्ण हिसाबले गरेर एकसाताको कलेक्सन सार्वजनिक गर्नेछौँ’, वितरक श्रेष्ठले भने ।

‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालभर प्रदर्शनरत छ । निर्देशक मिलन चाम्सले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।

नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् ।

कमेन्ट गर्नुहोस्