गीतले बढायो फिल्मको चर्चा

फिल्म । केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सी घर’ लाई चर्चामा ल्याउने काम गीतले गरेको छ । फिल्मका लागि प्रकाश सपूतले तयार गरेको गीत ‘बुझिन मैले’ यतिबेला सर्वत्र चर्चामा छ । विशेषत गीतमा महिलालाई लिएर गरिने विभेदलाई साहित्यको मार्फत प्रयोग गरिएकाले यसलाई रुचाइएको छ । गायक प्रकाशकै सङ्गीत र शब्द रहेको गीतलाई समीक्षा अधिकारीले गएकी छिन् ।

आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । यस्तै, अभिनेत्री अधिकारी पनि सर्वत्र फिल्मको प्रचारमा जुटेकी छिन् । ‘यो नाटकलाई धेरै दर्शकसम्म लग्नुपर्छ भन्ने लागेर फिल्ममा ल्याएकी हुँ । यसकारण निर्माणमा केही समय लाग्यो । यो सामाजिक कथा भएता पनि पूर्ण फिल्मी शैलीमा तयार गरिएको छ’, अभिनेत्री अधिकारीले भनिन् ।

उनले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् । फिल्ममा केकीसँगै सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

कमेन्ट गर्नुहोस्