बेइजिङमा ‘गाउँ आएको बाटो’

फिल्म । विश्व प्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औं संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ नेपाल प्रदर्शन अगावै बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४ औँ संस्करणमा छनोट भएको छ ।

राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको नवीन सुब्बा निर्देशित चलचित्रमा गाउँमा सडक आएपछि बाबु-छोराका सम्बन्धमा आउने उतारचढावलाई देखाईएको छ । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव विसं २०८१ वैशाख ७ देखि १० सम्म (अप्रिल १९ देखि २२) सम्म चल्ने छ ।

‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले अभिनय गर्नुभएको छ । महेश राई र निर्देशक सुब्बाले लेख्नुभएको चलचित्रको छायांकन जोस हेरम, सम्पादन क्वान पुन लिउङले तथा हेडी लीले संगीत भर्नुभएको छ । चलचित्रको नेपाल प्रदर्शन जेठ १८ गते तय गरिएको छ ।

कमेन्ट गर्नुहोस्