फिल्म । ‘जात्रा’ शृङ्खला नेपालमा परिस्थितिजन्य कमेडीमार्फत दर्शकको रोजाईमा परेको फिल्म हो । यसको तेस्रो शृङ्खला ‘महाजात्रा’ प्रदर्शनका लागि केही समय बाँकी रहदा सार्वजनिक गरिएको ट्रेलरले दर्शकको साथ पाइरहेको छ । यसमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् ।
अर्थात् यसपटकको सेटअप अघिल्ला भन्दा भव्य देखिएको छ । पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्याले यसपटक जात्रा होइन महाजात्रा भएको छ । फिल्मले मनोरञ्जनसँगै गम्भीर विषयलाई हाँस्य शैलीमा प्रस्तुत गरेको अभिनेता आचार्यले बताए ।
‘यो शृङ्खलाले कला र व्यावसायिक पक्षलाई सँगै अगाडि बढाईरहेकाले पनि मलाइ यसमा अभिनय गर्ने इच्छा थियो । लेखिएका कुराहरू पर्दामा के कसरि आउँछ भनेर अन्य फिल्ममा अभिनयको प्रस्ताव आउँदा डर पनि लाग्छ तर यो समुहसँग निर्धक्क भएर काम गर्न सक्छु’, अभिनेता आचार्यले भने,‘यसमा मैले नकारात्मक नेताको भूमिका निर्वाह गरेको छु । किनकि म दर्शकले मलाई एकै किसिमको भूमिकामा सधै नदेख्नु होस् भन्ने सोच राख्छु ।’
फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले शृङ्खलामार्फत देशको विकृतिलाई पर्दामा प्रस्तुत गरिएको बताए । उनले भने,‘हामीले व्यावसायिक भन्दा पनि कथा र विषयलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । यो फिल्मले युवाको बेरोजगारीको समस्यालाई अपराध गर्न उक्साउने व्यक्ति र त्यसले निम्त्याउने तनावलाई देखाएका छौँ । अघिल्ला शृङ्खलाको तुलनामा यो अझैँ माथि छ ।’
अभिनेत्री राउतले आफू गृहणीको भूमिकामा देखिएको जानकारी दिईन् । ‘म यसमा बेरोजगार श्रीमान्को श्रीमतीको भूमिकामा छु । यहाँ देखिएको श्रव्यदृश्य भन्दा चलचित्र निकै रमाइलो बनेको छ । दर्शक हाँस्न तयार हुनुस भन्न चाहन्छु’, अभिनेत्री राउतले भनिन् ।
अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले आफ्नो चलचित्रको प्रतिष्पर्धा अन्यसँग नभई आफैँसँग रहेको बताए । उनले भने,‘हामीले दर्शकको भरोसा बढाउने काम गरेका छौँ । हाम्रो व्यावसायिक र कलात्मक प्रतिष्पर्धा नै आफैँसँग छ । त्यसका लागि तेस्रो भागमा तीन गुणा बढी मेहनत गरेका छौँ ।’
षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्म ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग हो । यसमा अभिनेता आचार्य र अभिनेत्री राउतसँगै विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतले अभिनय गरेका छन् ।
फिल्ममा दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता, जित बहादुर रुवाली संयोजक निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र कालीप्रसाद बाँस्कोटा सङगीतकार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर छन् ।











