किन भावुक भए रितेश ?

फिल्म । गत फागुन ११ गतेदेखि प्रदर्शनरत फिल्म ‘गोर्खा वारियर’ का अभिनेता रितेश चाम्स मंगलवार आयोजित पत्रकार सम्मेलनमा भावुक बने । उनले आफू बेलायती सेनामा भएको र अफगानिस्तानको युद्धमा बेलायतको तर्फबाट भाग लिएको घटना सम्झिएर भावुक बनेका हुन् । ‘म गाउँमा सामान्य परिवारमा जन्मेको हुँ । स्कुलको पढाई सकिएपछि बैदेशिक रोजगारीमा जाने निर्णय गरेँ । मसँग अमेरिका, अष्ट्रेलिया जाने पैसा नभएका कारण बेलायती सैनिकमा भर्ती लाग्नुबाहेक अरु बिकल्प थिएन, त्यसैले म बेलायती सेनामा भर्ती लागेँ’, अभिनेता चाम्सले भने ।

बेलायती सेनामा केही वर्ष जागिर खाएपछि उनले बिदा लिएर पाईलट कोर्ष गर्ने निर्णय लिए । त्यसका लागि जुट्दै गर्दा उनलाई अफगानिस्तानको युद्धमा पठाईयो । त्यतिबेला अफगानको युद्धमा व्रिटिस गोर्खा सेनाका नेपालीहरुको मृत्यु र घाईतेको खबर आईरहेको थियो । यद्यपि अभिनेता चाम्ससँग अन्य विकल्प थिएन ।

‘हामी अफगानिस्तानको मरुभूमिमा झर्दै थियौं, जताततै धुलो उडेको थियो । हाम्रो हेलिकप्टरमा लगातार तालिवानले गोली बारुद बषाएका थिए । हेलिकोप्टरबाट झरेर जवाफी फायर गर्ने क्रममा मेरो तिघ्रामा कतीबेला गोली लाग्यो मैले वास्तै गरिन् । तिघ्रामा पालेको जस्तो लागेको थियो, एकछिनमा म रगताम्मे भएछु भने मलाई छाडेर हेलिकप्टर माथि आकाशमा उड्न थालेको थियो । तर माथिबाट एकजना अफिसरले मलाई तर लडेको देख्नु भएपछि उहाँहरुले सबैको ज्यान जोखिममा पारेर भएपनि मलाई त्यहाँबाट उद्दार गरेर हेलिकोप्टरमा लानु भएछ । म चार दिनपछि होसमा आउँदा अस्पतालको बेडमा थिएँ र मेरो एउटा खुट्टा नचल्ने अबस्थामा थियो’, उनले भने ।

त्यसपछि डाक्टरले उनलाई दुवै खुट्टा नचल्ने बताए । उनले भने,‘अस्पतालबाट डिस्चार्ज भएर म यस्तो डिप्रेसनमा गएँकी मलाई सामान्य हुन तीन वर्ष लाग्यो । तर मैले हिम्मत हारिन् । सबै प्रकारको थेरापी र आत्म विश्वासका कारण तीन वर्षमा म राम्ररी हिड्न सक्ने भएँ र सामान्य जीवनमा आएँ । त्यसपछि मैल अमेरिकाबाट पाईलटको कोर्ष पुरा गरेर इन्टरनेशलन हवाई जहाज उडाउन थालेका हुँ ।’

डक्टरले उनलाई ‘डिसेबल’को प्रमाणपत्र दिएपछि बेलायत सरकारले पनि रितेशलाई सेनाबाट सोही प्रमाणपत्रको कारण अबकास दियो । तर उनले आत्म विश्वास गुमाएनन्,‘मैले आफुलाई सामान्य नागरिकझैं प्रस्तुत गर्न तेक्वान्डो खेल्दै गएँ र आफुलाई शारीरिक एवम मानसिक रुपमा फिट बनाएँ । अहिले म तेक्वादोमा थ्रि डान बन्न सफल भएको छु । मैले सो क्रममा नेपालको आठ हजार मिटर माथिको हिमाल पनि चढेँ भने स्काई डाईभिङ पनि गरेँ । बेलायतबाटै अभिनयमा मास्टर डिग्री गरेपछि बल्ल म चलचित्र गोर्खा वारियरमा अभिनेता बन्न सफल भएको हुँ ।’

अभिनय गर्नुको कारणबारे अभिनेता चाम्सले भने,‘मेरा हजुरबुबा पनि ब्रिटिस सेनाको सिपाही हुनुहुन्थ्यो र उहाँ मलायको युद्धमा घाईते हुनु भएको थियो । म पनि बेलायती सेना भएर अफगानिस्तानको युद्धमा घाईते भएको थिएँ । गोर्खा वारियरको कथा हजुर बुबाको, मेरो र हामीजस्ता कैयौं वास्तविक वारियर सिपाहीहरुको कथा थियो । जसरी भए पनि यो फिल्म खेल्नु पर्छ भनेर निर्देशकज्यूले भनेका सबै प्रकारका शारीरिक तथा मानसिक अभ्यासमा पास भएर यो फिल्ममा म छानिएको हुँ ।’

प्रदर्शन फिल्मका एसोशियट वितरक रीच इन्टरटेनमेन्टका संचालक करण श्रेष्ठले फिल्मले दर्शकको साथ् पाइरहेको बताए । उनके प्रदर्शनको चार दिनमा एक करिड एकाउन्न लाखको ग्रस कलेक्सन फिल्मले गर्न सफल भएको बताए ।

‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुन् । फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा फागुन ११ देखि प्रदर्शन भईरहेको छ । निर्देशक मिलन चाम्सले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।

नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् ।

कमेन्ट गर्नुहोस्